-सुमन पोख्रेल
यो वर्ष बडादशैँका बेला म बेलायत भ्रमणमा थिएँ। चाडवाडको मुखमा परदेश जानुपर्दा कस्तो कस्तो लागेको थियो। अर्कोतर्फ कुनै बेला संसारभर राज गरेको शक्ति बेलायत घुम्न पाउँदा उत्सुक थिएँ।
मेरो लण्डन भ्रमणकाे प्रमुख उद्देश्य त्यहाँकाे शैक्षिक प्रणाली हेर्नु थियाे। यसैका लागि म आमन्त्रित थिएँ। त्यसमा पनि यूराेपमा संस्कृतको पढाइ हुने विद्यालय अवलोकन गर्न जाँदै थिएँ।
बेलायतका निजी विद्यालयमा आजभाेलि संस्कृत पढाइ हुन थालेकाे छ। म जुन विद्यालयकाे भ्रमण गर्दै थिएँ, ती विद्यालयकाे सम्पूर्ण खर्चमा मेराे यात्रा निश्चित भएकाे हाे। सेन्ट जेम्स सिनियर गर्ल्स स्कूलबाट मेराे पहिलाे अवलाेकन प्रारम्भ भएकाे थियाे।
बाल्यकालदेखि नै संस्कृतसँग मेरो नाता छ। संस्कृत पढेको विद्यार्थी हुँ। मेरो घर नै दाङमा संस्कृत पढाइ हुने केन्द्र (जनता विद्यापीठ)सँग जोडिएको छ। त्यहाँ पढाएका कुरा मेरा घरमै सुनिन्थे। त्यसको स्थापनासँग हाम्रो सम्बन्ध छ। मैले त्यहीँबाटै प्राथमिकदेखि विश्वविद्यालयसम्म पढेको हुँ।
मेरो आफ्नो नियमित जागिरे जीवन छ। त्यसबाट बचेको केही समयमा अहिले पनि संस्कृत पढाउँछु। यो त मैले संस्कृतको उत्पत्तिस्थलमा देखेको र बुझेको संस्कृतको अध्ययन अध्यापन थियो।
यसपटक भने फरक अवस्था थियो। अहिले नेपालमा हाई हाई भएको अङ्रेजी भाषाको जन्म थलोमा संस्कृतको पढाइ हेर्न बोलाइएको थिएँ। त्यसका लागि सेन्ट जेम्स सिनियर गर्ल्स स्कूलमा म आमन्त्रित थिएँ।
विम्बल्डन पार्कमा मेराे बसाइ भएकाले विद्यालयसम्म म एक्लै पुग्न असम्भव थियाे। त्यहाँकाे रेल वे प्रणालीलाई पहिलाेपटकमा कसैले पनि बुझ्न सक्दैन। नबुझ्दासम्म याे यति जटिल छ कि मान्छे कहाँबाट कहाँ पुगिदिन्छ। अझ भाषाकाे समस्या भएकाे मान्छे त सडकमै अलपत्र पर्ने अवस्था आउँछ। रमाइलाे कुरा के छ भने त्यहाँका प्लाटफर्ममा फाल्टु मान्छे प्रवेश गर्न पाउँदैनन्। हरेक यात्रुले प्लाटफर्ममा आउनुपूर्व मूल ढाेकामा प्लाष्टिकको कार्ड यन्त्रमा स्पर्श गराउनुपर्छ। अनि सानाे ढाेका खुल्छ र प्लाटफर्ममा प्रवेश गर्न पाइन्छ।
आफ्नाे गन्तव्य आएपछि बाहिर निस्कने गेटकाे छेउमा रहेकाे उस्तै यन्त्रमा फेरि त्याे प्लाष्टिक कार्ड स्पर्श गराएपछि बाहिर निस्कन पाइन्छ। प्लाष्टिक कार्ड भनेकाे रेलमा यात्रा गर्न पहिले नै पैसा तिरेकाे कार्ड भनेर बुझ्नुहाेस्। यसरी पहिलाेपटक भ्रमण गर्दै गरेकाे हुँदा बाटाे देखाउन र रेल चढाउन सधैँ हेलेन हार्पर नामक बूढी आमा आउनुहुन्थ्यो। उहाँले विद्यालयमा शिक्षकसित समन्वय गरी कक्षाकाेठामा पठाउनुहुन्थ्यो र हामी भित्र बसुन्जेल बाहिर कफी खाएर बस्नुहुन्थ्यो।
वार्विकले सर्वप्रथम आँखा चिम्म गरी ‘ॐ परमात्मने नम: अथ’ भन्न लगाए र गीताको श्लोक तीनपटक आवृत्ति गराए। त्यसपछि एउटा श्लोकलाई विभिन्न कोणबाट अङ्रेजीमा व्याख्या गरे। पढाइसकेपछि पनि एक मिनेट ध्यान गराई पुन: ‘ॐ परमात्मने नम: इति’ भन्न लगाए।
मेराे काम विद्यालयकाे पूर्वाधार, सुविधा, विद्यार्थीकाे अनुशासन र अभिरुचि, शिक्षककाे शिक्षण विधि हेर्नु रहेकाे थियाे र अन्त्यमा सामान्य अन्तरसंवाद गर्नु रहेकाे थियाे। पहिलाे तीन दिन ओलम्पियास्थित सेन्ट जेम्स स्कूलमा मेराे भ्रमण भयाे। लण्डनकाे मध्य भागमा रहेकाे हुँदा यसकाे भवन र भित्रकाे व्यवस्थापन अत्यन्तै भव्य रहे पनि खेल्ने मैदानकाे आयतन अलि कमजाेर लाग्याे। बाँकी कुरा भन्नै परेन। स्कूलकाे गेटमा सुरक्षा गार्ड बस्नुपर्दैन, कुनै बटन थिचेपछि गेट खुल्छ।
स्वागतकक्षमा गइसकेपछि हरेक आगन्तुकका लागि परिचयपत्र बनाउनुपर्छ। त्यस्ताे परिचयपत्र नजिकैकाे कम्प्यूटरमा आफ्नाे नाम र भेट्न चाहेकाे व्यक्ति उल्लेख गरेपछि फाेटाे खिचिन्छ र प्रिन्टरबाट परिचयपत्र निस्कन्छ। त्यसलाई सुन्दर डाेरीसहितकाे फ्रेममा राखी आफ्नाे लक्ष्यस्थलतिर लाग्नुपर्छ। बाहिर निस्कँदा परिचयपत्र त्यहीँ छाडेर मात्रै आउनुपर्छ। यी प्रक्रिया पूरा गरेपछि म कक्षाकाेठामा प्रवेश गरेकाे थिएँ।
यस काममा सहजकर्ताकाे भूमिका मार्टिन ब्लूमफिल्डले गर्नुभएको थियो। ८१ वर्षीय उहाँ झ्वाट्ट हेर्दा भूपू रूसी राष्ट्रपति बाेरिस येल्तसिनझैँ लाग्नुहुन्थ्यो। बडाे हास्यरसिक उहाँ संस्कृतका ज्ञाता पनि हुनुहुन्छ। संस्कृतप्रति उहाँको निष्ठा र ज्ञान देख्दा चकित परेँ। त्यस विद्यालयका केही छात्राले ऐच्छिक विषयका रूपमा संस्कृत पढ्दा रहेछन्।
त्यहाँ पढाउने दम्पती वार्विक जेसप र उनकी पत्नी एलिना जेसप रहेछन्। याे संस्कृत विषयकाे परीक्षा विद्यालयले लिँदैन, क्याम्ब्रिज विश्वविद्यालयले ए लेभल र ओ लेभलका रूपमा लिन्छ। त्यहाँ कक्षा सातदेखि बाह्रसम्मका विद्यार्थीहरूले संस्कृत पढेकाे पाइयाे।
विद्यार्थीहरू बेलायती, भारतीय थिए र एकजना त्यहीँ जन्मेकी नेपालीमूलकी छात्रा पनि भेटिइन्। उनीसित नेपालीमा कुरा गर्न खाेज्दा उनलाई नेपाली आएन। पहिलेकाे घर बालाजुतिर थियाे रे। म छक्क परेँ। एकातिर जन्मजात अङ्रेज संस्कृतको प्रसारमा खटिएका थिए। अर्कोतर्फ नेपाली मूलको दोस्रो पुस्ता नेपाली भाषा बोल्न नसक्ने भइसकेको छ। दोस्रो पुस्तामै नेपाली भाषा र संस्कृति बिर्सन थालेको देखेर म रन्थनिएँ पनि। यद्यपि यो मेरो वशको विषय पनि थिएन।
कक्षाकाेठा अत्याधुनिक हुने रहेछन्। भित्तामा करिब ७२ इन्चकाे स्मार्ट बाेर्ड थियाे। छेउमा ल्यापटपमा विषयवस्तु राखिएकाे थियाे। शिक्षकका हात त्यहाँ चलेपछि बाेर्डमा विशाल अक्षर देखिन्छन्। औँला चलाएरै बाेर्ड विभिन्न रङमा अक्षर लेख्न र मेट्न सकिन्छ।
वार्विकले सर्वप्रथम सबै विद्यार्थीलाई आँखा चिम्म गरी ‘ॐ परमात्मने नम: अथ’ भन्न लगाए र गीताकाे श्लाेक तीनपटक आवृत्ति गराए। त्यसपछि एउटा श्लाेकलाई विभिन्न काेणबाट अङ्रेजीमा व्याख्या गरे। आशय के भने श्लाेककाे पूर्व सन्दर्भ, त्यसकाे व्याकरणिकता र भावार्थलाई उनले केस्राकेस्रा काेट्याए र अन्त्यमा प्रश्नाेत्तर विधिबाट विद्यार्थीकाे बुझाइलाई मापन गरे।
विद्यार्थीहरू अत्यन्त अनुशासित भए पनि हाम्राेजस्ताे आज्ञा लिएर बाहिर जाने भित्र आउने भने त्यहाँ थिएन। काेठाभित्र चिया, कफी, पानी, टिस्यु पेपरकाे व्यवस्था हुँदाे रहेछ। विद्यार्थीहरू आपसमा कुरा गरे पनि शिक्षक रिसाउँदा रहेनछन्। विद्यालयका पुस्तकालय, विज्ञान प्रयाेगशाला, नृत्य घर र कलागृह पनि भव्य रहेछन्।
शिक्षक वार्विक र एलिनाले पढाइसकेपछि पनि सबैलाई एक मिनेट ध्यान गराई पुन: ‘ॐ परमात्मने नम: इति’ भन्न लगाउँदा रहेछन्।
याे स्कूल लण्डनकाे अत्यन्तै महँगाे स्कुलभित्र पर्छ। त्यहाँ पढ्ने विद्यार्थीले प्रतिवर्ष कम्तीमा दश हजार पाउण्ड तिर्नुपर्छ। त्यसलाई नेपाली मुद्रामा विनिमय गर्ने हाे भने करिब चाैध लाख रूपैयाँ हुन आउँछ। त्यति महँगो स्कूलमा आफ्ना नानीहरूलाई अभिभावकले आधुनिक विषयका साथै संस्कृत पढाएका छन्। हाम्राे नेपालमा धनी अभिभावकले संस्कृतलाई तुच्छ सम्झिएर नानीहरूलाई पाश्चात्य संस्कृतिकाे अन्धानुकरण गर्न लगाउने स्कूलतिर धकेलिरहेका छन्। यसबाट बच्चामा आफ्नाेपनकाे निष्ठा हराएर गइरहेकाे त छ नै, साथै छाडापनले प्रश्रय पाइरहेकाे पनि छ। सम्पूर्ण विज्ञान र प्रविधिकाे छेउदेखि टुप्पाेसम्मकाे भेउ पाएका बेलायतीहरूले आज संस्कृत विषयलाई गहनताका साथ पढेकाे देखिन्छ र विस्तारै त्यसमा आफ्नाे पेटेन्ट राइट (एकस्व) खाेज्न थालेको देखिन्छ।
बेलायतीको तर्क थियो, “हाेइन, संस्कृतको ज्ञानलाई नेपाल, भारत जस्ता देशको पेवा बनाउनुहुँदैन र याे विश्वकै साझा सम्पत्ति हाे ।”
कुराकाे सन्दर्भमा मैले चिन्तन, दर्शन, भाषाशास्त्र, शब्दकाेश र साहित्यिक दृष्टिले संस्कृत संसारकै समृद्ध भाषा रहेकाे र त्यसकाे मातृभूमि नेपाल तथा भारतवर्ष हाे भन्न खाेज्दा उनीहरूकाे जवाफ मैले सोचेभन्दा निकै फरक आयो । उनीहरूको तर्क थियो, “हाेइन, ज्ञानलाई नेपाल, भारत जस्ता देशको भनेर एकदेशीय पेवा बनाउनुहुँदैन र याे विश्वकै साझा सम्पत्ति हाे ।” उनीहरूले यस्तो समेत भनिहाले। यो जवाफले मेरो चित्त त बुझेन। तैपनि मैले त्यहाँ धेरै तर्कवितर्क गर्न मिलेन।
यदि हामीले यसलाई केवल राेटी उत्पादन गर्न नसक्ने विद्याका रूपमा बुझेर उही अमेरिका-अष्ट्रेलिया जाने जनशक्ति तयार पार्ने हाे भने एक दिन उनीहरू नै नेपाल आएर संस्कृत भाषाका टाेफेल र जीआरई जस्ता कक्षा नचलाउलान् भन्न सकिन्न। यसतर्फ विशेषत: हामी संस्कृतका विद्यार्थीहरूमा हाेश आउनु जरुरी छ र त्यसलाई बुझाउन अङ्रेजी जान्नु पनि त्यत्तिकै आवश्यक छ। बेलायत भ्रमण गरेपछि संस्कृत पठनपाठनमा नयाँ तरीका प्रयोग गरी यसको अपनत्व हामीले लिन ढिलो भइसकेको अनुभव गरेँ।
(पोख्रेल हिन्दू विद्यापीठ नेपालका उपप्राचार्य हुन्।)
यो भ्रमण वृत्तान्तले बहुआयामिक जिज्ञासाहरु जन्मिएका छन।
हामी चैं संकीर्ण दुर्गन्धित पोखरीका भ्यागुताहरुझैं टरटराइ रहेका छौं।