भारतीय नागरिकता संशोधन विधेयक : समयको आवश्यकता

0
431

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नागरिकता संशोधन विधेयक २०१९ पारित गरेको थियो। हाल राष्ट्रपति रामनाथ कोबिन्दबाट हस्ताक्षर भएपछि कानुन बनिसकेको छ।

भारतमा राष्ट्रिय नागरिक दर्ता र नागरिकता संशोधन विधेयकलाई लिएर समर्थन र विरोध भएको छ।
नागरिकता संशोधन विधेयक मोदी सरकारले गरेको निर्णय समयको आवश्यकता हो। २००४ साल (सन् १९४७) मा धर्मका आधारमा भारत विभाजन भयो। मुस्लिमका लागि पाकिस्तान र हिन्दूका लागि भारत बनाइयो। त्यसैले पाकिस्तान इस्लामिक राष्ट्र हुनु स्वभाविक हो किनकि इस्लामहरूको बाहुल्य थियो।

यसै तर्कअनुसार भारत हिन्दू राष्ट्र हुनुपर्थ्यो कि पर्दैनथ्यो? डा. भीमराव अम्बेडकरको मूल भूमिकामा बनेको भारतीय संविधानमा भारत हिन्दू राष्ट्र नै थियो। इन्दिरा गान्धी जब अल्पमतमा परिन् उनलाई सरकारको पक्षमा बहुमत जुटाउन वामपन्थीको समर्थन लिनुपर्ने बाध्यता आइपर्‍यो।

वामपन्थीको एकमात्र शर्त थियो : भारतलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए हामी इन्दिरा सरकारलाई समर्थन गर्छौ। इन्दिराले सत्ता टिकाउन वामपन्थीको शर्त स्वीकार गरिन् र रातारात षड्यन्त्रपूर्वक भारतलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिन्। शरीरमा गडेको काँडालाई काँडाले नै निकाल्न उत्तम हुन्छ, हीरालाई हीराले नै काट्न सक्छ। त्यसैले इन्दिरा गान्धीले गरेको भूललाई इन्दिरा शैलीमै सुधार्नुपर्छ। विगतमा आफूले त्यही प्रक्रिया गर्दा तर्कसंगत देख्ने शक्तिहरू आज मोदीलाई घोर बेइमान देख्छन्।

कलियुगमा तरबारको जवाफ फूल हुन सक्दैन। अहिंसा, करुणा र प्रेमको अर्ती पूर्वीय वंशजहरूलाई कसैले सुनाउन आवश्यक छैन। अहिंसा र करुणाको मार्गको भारी मूल्य पूर्वीय सभ्यताले भोगिसकेको छ। पलपलमा त्यसको मूल्य चुकाइरहेको छ। कारबलाको युद्धमा भागेका भगौडाहरूलाई भारतीयहरूले शरण दिए तर तिनै भगौडाले शरण दिनेको नरसंहार गरे।

इरानको राज्यधर्म पारसी थियो। गहन आध्यात्मिक रहस्य बोकेको धर्म हो यो तर यो धर्ममाथि आक्रमण भयो। साराका सारा पर्सियाली काटिए र पर्सियाली धर्मका सम्बुद्ध पुरुष जरथुस्त्र लगायत उनका लाखौं अनुयायीलाई भारतीयहरूले शरण दिए। जिससलाई शूलीमा झुन्ड्याइयो। उनलाई समेत भारतीयले संरक्षण दिए। सुफी सन्त तथा अनुयायीहरू अरबको भूमिमा भटाभट काटिए। मन्सुर जस्तो सम्बुद्ध रहस्यदर्शी समेत टुक्रा टुक्रा पारेर काटिए अनि सुफीहरू शरण लिन भारत छिरे। भारतले शरण दियो तर मुस्लिमहरूले भारतमा समेत सुफीमाथि अत्याचार गर्न छोडेनन्। सरमदलाई दिल्लीको जामे मस्जिदमा काटियो। तिब्बतबाट निर्वासित दलाई लामा लगायत उनका लाखौँ अनुयायीलाई भारतले शरण दियो।

भारतको पूरै इतिहासमा आजसम्म शरणमा आउनेहरूलाई मरण गरेको देखिँदैन।  यो तथ्य नेपालको सन्दर्भमा पनि लागू हुन्छ। अंग्रेजहरूको अतिक्रमणपछि भागेर शरण लिन नेपाल आएको भारतको कुनै एक राज्यको राजालाई सुपुर्दगी गर्न अंग्रेज सरकारले नेपाल सरकारसमक्ष माग गर्दा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले शरणको मरण गर्ने संस्कृति हाम्रो होइन, त्यसैले शरण पर्न आएको व्यक्तिलाई हामी सुपुर्दगी गर्दैनौँ भन्ने जवाफ अंग्रेज सरकारलाई दिएका थिए। शरणमा आएका ती राजालाई ससम्मान थपाथली दरबारमा आतिथ्य दिइएको थियो। अंग्रेज फौजको दमनसँग टिक्न नसकेर भारतका मुस्लिमहरू भागेर नेपालको तराई भूभागमा आए, अंग्रेज सरकारले भारतबाट भागेर नेपाल छिरेका मुस्लिमहरूलाई सुपुर्दगी गर्न राणा सरकारलाई सदैव दबाब दिइरह्यो तर कुनै पनि राणा प्रधानमन्त्रीले शरणमा आएका मुस्लिमलाई सुपुर्दगी गरेनन्।

तिब्बतबाट भागेर नेपाल आएका श्यामर्पा लामालाई सुपुर्दगी गर्न तिब्बत सरकार (तत्कालीन भोट)ले गरेको अनुरोध नेपालले अस्वीकार गर्दा नेपालले तिब्बतसँग दुईपटक युद्ध गर्नुपरेको थियो र यही युद्धसँग जोडिएर नेपालले चीनसँग समेत युद्ध गर्नुपरेको थियो। एउटा व्यक्तिलाई शरण दिने मूल्यमा ठूला शक्तिसँग युद्ध गर्ने इतिहास छ नेपालको। जोखिम मोल्न सक्ने त्यो साहसको मूल कडी हो पूर्वीय संस्कृति। जसले भन्छ- शरणको मरण नगर, साँझमा आएका पाहुना ईश्वर बराबर हुन् तर ईश्वर मानिएको रातको पाहुनाबाट काटिएको, छोरीचेली बलात्कृत भएको वा स्वास्नी अपहरित भएको विडम्बना र अभिषप्त इतिहास बोकेको छ, पूर्वीय समाजले।

भारत र पाकिस्तान छुट्टिएको समयमा पाकिस्तानमा ॐकार समुदाय (हिन्दू, बौद्ध, जैन र शिख)हरूको जनसंख्या २९.५% थियो र अहिले ७० वर्ष पछाडि घटेर १.३% मा पुगेको छ।
भारत र पाकिस्तान विभाजन हुँदा भारतमा ५.१% मुस्लिम आवादी थियो। आज भारतमा मुस्लिम आवादी २३% छ। त्यत्रा हिन्दूहरू कहाँ गए? विभाजनको समय पाकिस्तान २ भागमा थियो- पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान। पूर्वी पाकिस्तान अर्थात् हालको बंगलादेशमा हिन्दू आवादी २५% भन्दा बढी थियो अहिले ७% छ। ती हिन्दू कहाँ गए? एउटा रिपोर्टले भन्छ संसारमा सबैभन्दा जघन्य मानव नरसंहार बंगलादेशको हिन्दूमाथि भएको छ।

भारतमा मुस्लिमहरू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पनि भएका छन्। कलाकारिता, खेलकुद लगायतको क्षेत्रमा मुस्लिम समाजको उल्लेखनीय उपस्थिति छ। भारतको सरकारी स्तरको उच्च ओहदामा वा सार्वजनिक जीवनको सम्मानित भूमिकामा रहेको होस् तर भारत सरकारले हालै ल्याएको कानुनको सन्दर्भमा प्रश्न उठाउने भुस्याहा प्रगतिशील वा २-४ मुस्लिम बन्धुहरूले पाकिस्तान वा बंगलादेशको कार्यकारी पदमा पुग्ने, मन्त्री हुने, सरकारको प्रमुख पदमा पुग्ने कुनै एक हिन्दू, बौद्ध, जैन वा शिख धर्मावलम्बीको नाम बताउन सक्छन्? प्रमुख पदमा पुग्ने व्यक्तिको त कुरै छोडौं पाकिस्तान र बंगलादेशका केवल एक हिन्दू, बौद्ध, शिख वा जैन नागरिकको नाम बताउन सक्छन् ? २५% बाट झरेर पनि अझै ७% हिन्दू त अझै छन् त बंगलादेशमा। तर नेपालमा जम्मा ५% प्रतिशत जनसंख्या हुने नेवार नेपालको सबैजसो संवैधानिक निकायको प्रमुख पदमा पुग्नु, भारतमा जम्मा ७ % मुस्लिम जनसंख्या हुँदै खेर जाकिर हुसैन भारतको राष्ट्रपति हुने तर बंगलादेशमा ७% भन्दा बढी जनसंख्या हुँदा पनि एकजना हिन्दूको नाम नसुनिनुको कारण के हो ? पाकिस्तानमा हिन्दू आवादी १० गुणाले घट्नु तर भारतमा मुस्लिम आवादी ५ गुणाले बढ्नुको कारण के हो?

केही वर्षअघि पाकिस्तानमा एउटा समाचारले अधिक चर्चा पायो र यो समाचारले पाकिस्तानको सामाजिक सञ्जाल र सम्पूर्ण श्रव्य-दृश्य र छापा माध्यम भरिए। समाचारको सार थियो : पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफले हिन्दूहरूको पर्व होलीको उपलक्ष्यमा हिन्दूहरूलाई शुभकामना दिएका थिए। पाकिस्तानका कुनै प्रधानमन्त्रीले हिन्दूहरूको चाडमा शुभकामना दिएको यो पहिलोपटक थियो। त्यसैले पाकिस्तानमा यो आठौं आश्चर्यको विषय भएको थियो।

२००४ साल (सन् १९४७) पछिका यत्रो वर्ष हिन्दू, बौद्ध, शिख वा जैन समुदायमाथि कस्तो व्यवहार हुन्थ्यो भन्ने अनुमान यसबाट पनि गर्न सकिन्छ। पाकिस्तानको पूरै इतिहासमा अल्पसंख्यकहरूप्रति थोरै भए पिन सहानुभूति दर्शाउने प्रधानमन्त्री अहिलेका इमरान खान हुन्। केही समयअघि बल्ल पाकिस्तानी संसद्‌मा एकजना संसद् सदस्यले भने : ‘अल्पसंख्यकको प्रतिनिधित्व गर्दै एकजना हिन्दूलाई मन्त्री बनाउनपर्छ।’ तर १९४७ पछिको भारतको इतिहासमा अहिलेसम्म कुनै पनि मन्त्रिमण्डलमा मुस्लिमहरूको प्रतिनिधित्व नभएको छैन। महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवसर पाएका छन् तर पाकिस्तानमा बल्ल अहिले चर्चा भएको छ अल्पसंख्यकलाई पनि मन्त्री बनाउनुपर्छ।

सन् १९४७ पछि पाकिस्तानमा वा सन् १९७१ पछि बंगलादेशमा यतिका वर्षसम्म कुनै एक हिन्दू, बौद्ध, शिख वा जैन समुदायका नागरिक मन्त्री बन्न योग्य थिएनन्? राजनीति, कलाकारिता, खेलकुद लगायतको क्षेत्रमा राम्रो दखल राख्न सक्ने थिएनन् ? त्यहाँका सम्पूर्ण हिन्दू, बौद्ध, शिख वा जैनहरू बुद्धिहीन मात्र थिए? भारतमा राजनीतिको खेती नै आरक्षणको चर्चाबाट हुन्छ। आरक्षणको मुद्दा भारतको राजनीतिको केन्द्रमा छ। यो एउटा राजनीतिक ब्यापारको राम्रो धन्धा भएको छ तर पाकिस्तान र बंगलादेशमा अल्पसंख्यकलाई आरक्षणको व्यवस्था छ?

अहिलेबाँदरझैं उफ्रने कथित प्रगतिशील र मानवतावादीहरू पाकिस्तान र बंगलादेशमा आरक्षणको प्रसंग उठाउन किन सक्दैनन्? बंगलादेशमा ७% हिन्दू भएपछि राजनीति, प्रशासन लगायतका क्षेत्रमा कम्तीमा ७% प्रतिनिधित्व हुनुपर्दैन? त्यसैले पाकिस्तान र बंगलादेशमा प्रतिभाशाली अल्पसंख्यक पलायन हुन बाध्य भए।

धेरै पछि अमेरिका पुगेका हिन्दूहरू अग्रपंक्तिमा छन्, अमेरिकाको साक्षरताको सवालमा अनि प्राध्यापनको क्षेत्रमा हिन्दू पहिलो, यहुदी दोस्रो र इसाई तेस्रो नम्बरमा पर्छ। अमेरिकाको कुल डाक्टरमध्ये ४०% हिन्दू छन, प्राध्यापन र सफ्टवेयर क्षेत्रमा हिन्दूहरूको बाहुल्य छ तर पाकिस्तान र बंगलादेशमा किन पिछडिए?
भारतमा एउटा भूमिगत संगठन छ, सहिष्णु संगठन (Intolerance gang)। यो ग्याङको तर्क र मानसिकता अनौठो छ, एउटा मुस्लिम हिंसात्मक घटनामा मारियो भने यो ग्याङका सदस्यहरू सहिष्णुताको हावा फुक्दै होहल्ला मचाउँछन् तर कश्मीरबाट लाखौं हिन्दू लखेटिएको र काटिएको यिनले देख्दैनन्। पश्चिम बंगालमा विगत ५ वर्षमा मात्र दर्जनौँपटक हिन्दूबस्तीमा आगलागी र हिंसा मचाइएको छ तर यिनको आँखा यता जाँदैन। बाबरी मस्जिदको ध्वंस यिनको मस्तिष्कमा टाँसिएर बस्छ तर कश्मीमा ५ हजार मन्दिर ध्वस्त गरिएको यिनले देख्दैनन्।

गुजरात दंगाको घाउ अझै उप्काउँछ्न् यो ग्याङ र सम्पूर्ण दोषको भागिदार मोदी र हिन्दूलाई ठहर्‍याउँछन् तर गुजरात दंगाको शुरुवात ५६ जना हिन्दू कारसेवकलाई रेलको ढोका बन्द गरेर जिउँदै जलाइएपछि शुरुवात भएको हो भन्ने तथ्यलाई बिरालोले गुहु लुकाएझैं लुकाउन न्वारानदेखिको बल लगाउँछन्। गुजरात दंगाको हिंसा दु:खद र दुर्भाग्यपूर्ण थियो, जो मरे पनि मानव मरेका थिए। मुस्लिम र हिन्दूभन्दा पहिले ती मनुष्य थिए। गुजरात दंगाको शुरुवात मुस्लिम पक्षले ५६ जना हिन्दूको हत्या गरेर भएको थियो र यसले सिर्जना गरेको दंगामा हिन्दूमुस्लिम दुबै मारिएका थिए। पुलिसको गोली लागेर अधिकांश हिन्दू मारिएका थिए तर यी आफूलाई सहिष्णुवादी दाबी गर्ने ग्याङ अनि भारतका कम्युनिस्टहरूले यसरी प्रचार गरे मानौं कि गुजरात दंगामा मुस्लिमहरूको मात्र मृत्यु भएको थियो। मुस्लिमहरूको मृत्युमा होहल्ला गर्ने यो समूह हिन्दूहरूको मृत्युमा मौन रह्यो।

आज पनि अधिकांश मानिसको मनमा यो छाप छ कि गुजरात दंगामा केवल मुस्लिम समुदाय मारिएका थिए। ५६ जना हिन्दू कारसेवक जिउँदै जलाइएको ७२ घण्टासम्म यी ग्याङका सदस्यहरू रमिता हेरेर रमाइलो मानिरहेका थिए, कसैले पनि दुःखका विज्ञप्ति निकालेनन्, गुजरात दंगाको बारम्बार चर्चा गर्ने यो गिरोहले ५६ जना हिन्दूको हत्या गर्नेमाथि कारबाही गर्नुपर्ने माग कहिल्यै गरेन किनकि भोटको सवाल छ। एउटा मुस्लिमलाई विहारमा जिउँदै जलाइयो तब यो सहिष्णु ग्याङले भारतभर डम्फु पिट्यो तर निर्भया हत्याको मामिला होस् वा प्रियंका हत्याको मामिला होस् चुप रहन्छ किनकि ती हिन्दू हुन्। यिनका लागि बोलेर राजनीतिको रोटी पाक्दैन।

भारतमा हत्या र हिंसाको घटना दिनहुँ हुन्छ तर यी घटनामा मुस्लिम नपरेसम्म यिनको वाक्य फुट्दैन। १९४७ पछि भारतमा ठूला साना गरी १७ सय दंगाको घटना भएको छ तीमध्ये ९५% दंगाको घटना कंग्रेस सरकारको कार्यकालमा भएको छ तर यिनको दिमागमा केवल गुजरातको दंगा छ। सन् १९८४ मा राजधानी दिल्लीमा हजारौं शिखहरूलाई जिउँदै जलाइएको थियो। यो जघन्य हत्यामा कंग्रेसका नेताहरू प्रत्यक्ष संग्लग्न थिए तर सहिष्णुवादी ग्याङले दिल्ली नरसंहारको उच्चारण पनि गर्दैन।

सन् १९७० मार्च १७ को दिन पश्चिम बंगाल राज्यको बर्धमान जिल्लास्थित सेनबारीमा एउटा जघन्य र कृतघ्न हत्याकाण्ड भएको थियो। यो हत्याकाण्डमा भारतीय कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा तत्कालीन पश्चिम बंगालको कम्युनिस्ट सरकारका उद्योगमन्त्री निरुपम सेन लगायत वरिष्ठ नेताहरूको प्रत्यक्ष संग्लग्नतामा प्रतिद्वन्द्वी दलका २ दाजुभाइ प्रणव सेन र मोलोय सेनको टाउको काटेर तिनको रगतमा चामलको भात पकाएर तथा शरीर टुक्रा टुक्रा पारेर पकाएर ती दुई युवककी आमा मृगनयनी सेनलाई यसरी पकाइएको भात र मासु जबरजस्ती खुवाएका थिए। ७० को दशकमा भएको यो हत्याकाण्डलाई पश्चिम बंगाल र पूरै भारतको इतिहासमा “सेनबारी हत्याकाण्ड”को रुपमा कालो अक्षरले लेखिएको छ। यति मात्र होइन, पश्चिम बंगालका कम्युनिस्टहरूले मृगनयनीका छोरीको प्राइभेट ट्युटर जितेन रोयको पनि हत्या गरेका थिए। उनी पढाउन आएका थिए। उनका पतिका आँखामा एसड छर्केर दुबै आँखा ध्वस्त गरिदिए र एक वर्षपछि उनको पनि हत्या गरे। त्यो बेला सेनबारीमा मात्र कम्युनिस्टहरूले सयौंको निर्दयतापूर्वक हत्या गरेका थिए।

सेनबारीको यो जघन्य हत्याकाण्डबारे भारतका वामपन्थीहरू तथा सहिष्णुवादी ग्याङका हर्ताकर्ताहरू महेश भट्ट, आमिर खान, शाहरूख खान, जावेद अख्तर, शावना आजमी, नसुरिद्दीन शाहहरूको वाक्य आजसम्म फुटेको छैन किनकि यो घटनामा हत्या गर्ने कम्युनिष्ट थिए र मारिने चाहिँ हिन्दू थिए। यो घटनालाई भारतका तथाकथित बुद्धिजीवीहरूले कहिल्यै असहिष्णु देखेनन्। शायद क्रान्ति र परिवर्तन देखे। यस्ता उग्रहरूको जमात हो सहिष्णुवादी ग्याङ र यो ग्याङ फेरि एकपटक जुर्मुराएको छ, हालै ल्याएकी नागरिकता सैशोधन विधेयकविरुद्ध।

यिनका अघिल्लो पुस्तालाई भारतले शरण दियो त्यो ठिक तर अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा धार्मिक आस्थाको आधारमा दमन खेप्न नसकेर पलायन हुन बाध्य हिन्दू, बौद्ध, जैन वा शिख समुदायलाई शरण दिनु गलत रे! संविधानविरोधी रे!

भारत छिरेका मुस्लिमहरूलाई नागरिकता नदिने तर हिन्दू, बौद्ध वा शिखहरूलाई नागरिकता दिनु गलत हो भन्ने प्रश्न उठाउनेहरू प्रशस्त देखिन्छन्। यस सन्दर्भमा भारतका गृहमन्त्री अमित शाहको दलिल तर्कपूर्ण र तथ्यमा आधारित छ। अफगानिस्तान, पाकिस्तान वा बंगलादेशबाट मुस्लिमहरू पनि भारत आएका छन् तर ती सबै मुस्लिम धर्मावलम्बी भएकै कारण धार्मिक असहिष्णुताको शिकार भएर भारत छिरेका होइनन्। ती अन्य कारणले भारत छिरेका हुन् तर ती देशहरूबाट भारत छिर्ने अधिकांश हिन्दू, बौद्ध, शिख वा जैन समुदायका नागरिकहरू धार्मिक आस्थाका कारण धार्मिक अतिवादीहरूको दमन र हिंसा सहन गर्न नसकेर भारत छिरेका हुन्। जुन कुरा ती देशहरूमा हिन्दू, बौद्ध वा शिख समुदायको आवादी तीव्र गतिमा घट्नुले प्रष्ट पार्छ ।

केही वर्षअघि इसाई धर्मावलम्बी एक मन्त्रीलाई लाहोरको व्यस्त चोकमा दिनदहाडै “अल्ला हु अकबर” भन्दै गोली हानेर हत्या गरियो। हत्याराहरूले गर्वपूर्वक घोषणा गरे – पाकिस्तानमा मुस्लिमबाहेक कोही सुरक्षित रहने छैन जसले इस्लामको स्वार्थविपरीत काम गर्छ उसको हालत यस्तै हुन्छ।

मन्त्री पदमा पुगेका व्यक्तिको हालत यस्तो छ भने सामान्य व्यक्तिको हालत कस्तो होला! बंगलादेशमा हिन्दू समुदायमाथि भएको नरसंहारबारे तसलिमा नसरिनले आफ्नो पुस्तक “लज्जा”मार्फत अभिव्यक्त गरिन्। फलस्वरूप उनलाई फतहा जारी गरियो र अढाई दशकदेखि उनी निर्वासित छन्। केही वर्षअघि तसलिमा नसरिन पश्चिम बंगालको एक कार्यक्रममा सहभागी हुने निधो भयो। त्यतिखेर भारतका मुल्ला मौलवीहरूले फतहा घोषणा गर्दै भने : तसलिमा नसरिन पश्चिम बंगाल आएमा उनको शिर काटिनेछ।

यो फतहा चाहिँ यी तथाकथित सहिष्णु ग्याङ, कम्युनिस्ट तथा कथित सेक्युलरहरूलाई मानव अधिकारविरुद्धको असहिष्णु व्यवहार लाग्दैन। किनकि घटिया राजनीतिको रोटी सेक्नुछ र भोटको मामिला छ।
इजरायलको कानुनअनुसार संसारभरका यहुदीहरू स्वभाविक रुपले इजरायलको पनि नागरिक हुनेछन्। एउटा यहुदी धर्मावलम्बीलाई संसारको कुनै पनि देशमा संकट आइपरेमा ऊ इजरायल आउन सक्नेछ र स्वतः इजरायलको नागरिक हुनेछ। इसाईहरूका लागि संसारमा ५५ देश छन्। मुस्लिमहरूका लागि ३५ देश छन् तर हिन्दू, जैन वा शिखहरूका लागि केवल २ देश छन्, जुन देश यी धर्महरूको मूल थलो हुन्। यी २ देशहरू भारत र नेपाललाई पनि पूर्वीय धर्मावलम्बीबाट खोस्दै छन्। संसारको कुनै पनि देशमा धार्मिक आस्थाको कारण शरणार्थी बन्न बाध्य हिन्दू, जैन, शिख वा बौद्ध धर्मावलम्बी कहाँ जाने? यी धर्मावलम्बीको एउटा थलो नेपाल हो तर सानो भूभागको कारण नेपालले अफगानिस्तान, पाकिस्तान वा बंगलादेशबाट धार्मिक मतका कारण विस्थापित हिन्दू, बौद्ध वा शिख समुदायका ठूलो संख्याका शरणार्थीहरूलाई थेग्न सक्दैन। यस्तोमा एउटै विकल्प भारत मात्र हो। त्यसैले मोदी सरकारले लिएको निर्णय ठिक थियो।

रोहिंज्याहरू मूल रुपले बंगाली हुन् र बंगालबाट म्यान्मा गएका हुन्। म्यान्मा समस्या उत्पन्न भएपछि रोहिंज्याहरू म्यान्माबाट विस्थापित हुनुपर्‍यो। रोहिंज्याहरूलाई बंगलादेशले छिर्न दिँदैन, भारत वा नेपालले रोहिंज्याहरूलाई शरण दिनपर्छ भन्नेहरू पनि देखिन्छन्। रोहिंज्याहरूले शरण पाउनुपर्छ तर तिनका लागि उपयुक्त देश बंगलादेश हो। बंगलादेशले उनीहरूलाई शरण दिनुपर्छ किनकि रोहिंज्याहरूको धर्म, भाषा, संस्कृति र शारीरिक बनावट बंगाली मुस्लिमसँग मिल्छ। बंगलादेशले रोहिंज्याहरूलाई शरण नदिएको तथ्यलाई असहिष्णु नदेख्ने तर भारत र नेपालले तिनलाई शरण दिनुपर्छ भन्दै कुतर्क गर्ने सहिष्णु ग्याङका समर्थकहरूलाई के भन्ने?

भारतको सहिष्णु गिरोहका नेपाली समर्थकहरू मोदी सरकारले ल्याएको नागरिकता विधेयकविरुद्ध भारतका विभिन्न शहरमा भएको हिंसात्मक प्रदर्शनलाई लिएर मोदीको पतनको शुरुवात भन्दै कुर्लन थालेका छन्। तथ्य के हो भने गुजरात दंगापश्चात् भारतका यी तथाकथित सहिष्णु ग्याङ, सेक्युलर व्यापारीहरू, वामपन्थीहरू र कंग्रेसीहरू मोदीविरुद्ध हरसम्भव तरिकाले लागेका थिए तर गुजरात दंगालगत्तै भएको विधानसभा निर्वाचनमा मोदी दुई तिहाइ बहुमतले विजयी भए।

खासमा अहिले भारतको कंग्रेस (आई) पूरै नांगिएको छ। यो पार्टीको गुप्त खुराफाती एजेन्डा र उद्धेश्य छताछुल्ल भएको छ। भारत-पाकिस्तान विभाजन धार्मिक मतको आधारमा भएको थियो। हिन्दूहरूका लागि भारत र मुस्लिमहरूका लागि पाकिस्तान। पछि पाकिस्तान टुक्रिएर बंगलादेश भयो। यसरी २ देश मुस्लिम राष्ट्र भयो तर भारतलाई हिन्दू राष्ट्रको पहिचानबाट खोसियो। धर्मको आधारमा देश विभाजन भएकाले अन्य देशहरूबाट शरणार्थी भएका मुस्लिमहरूलाई पाकिस्तान वा बंगलादेशले शरण दिनुपर्छ। हिन्दू, बौद्ध, शिख वा जैनहरूलाई भारतले शरण दिनुपर्छ, जुन तर्क संगत पनि देखिन्छ। भारत विभाजन हुँदा पाकिस्तानभित्र परेका हिन्दूहरूलाई भारत ल्याउने र भारतभित्र रहेका मुस्लिमहरू जो पाकिस्तान जान चाहन्थे उनीहरूलाई सहज रूपले पाकिस्तान जाने वातावरण बनाउनुपर्थ्यो तर पाकिस्तान जान चाहने मुस्लिमहरूलाई गान्धीले सिमानामा बसेर रोके। पाकिस्तानमा रहेका हिन्दूहरूको जमिन र भारतमा रहेका मुस्लिमहरूको जमिन साटफेर गर्न सकिन्थ्यो तर यसो भएन किनिक नियत निकै खतरनाक थियो। पाकिस्तानले धार्मिक आस्थाको आधारमा विभेद र अत्याचार नगर्ने सम्झौताको उल्लंघन गर्दै लाखौं हिन्दूको हत्या गरेर एउटा ट्रेनमा टाउको र अर्को ट्रेनमा शरीर भरेर भारतको सिमानामा पठायो। भारतभर हिंसा र दंगा भडकियो जसमा लाखौं हिन्दू र मुस्लिम मारिए। पाकिस्तानमा हिन्दूहरू कत्लेआम भए जसको कारण हिन्दू आवादी १९% बाट झरेर अहिले १.३% को हाराहारीमा छ। विभाजनपश्चात् हिन्दू-मुस्लिम दंगा अनि लाखौं नागरिकहरूको कत्लेआमको मूल कारक महात्मा गान्धी हुन्। उनको अविवेकपूर्ण निर्णयका कारण पाकिस्तानमा लाखौं हिन्दूहरू मारिए र भारतमा हिन्दूमुस्लिम दुबै मारिए तर यहाँ लाखौं नागरिकहको जीवनको मूल्यभन्दा गान्धी एकजनाको जीवनको मूल्य भारी मान्ने जमातको बिगबिगी छ। खासमा अंग्रेजले भारत र पाकिस्तान दुबैलाई अपांग हालतमा छोड्ने नियत राखेको थियो, त्यसैअनुसार चालबाजी रचेको थियो यो चालबाजLको हिस्सा रहे महात्मा गान्धी। अब माहात्मा गान्धीबारे यी यावत् तथ्य खोतल्ने हो भने सहिष्णुवादी ग्याङका मसिहाहरू पूरै जोडका साथ भन्न थाल्छन् : गान्धीको आलोचना गर्नेलाई झुन्ड्याउनुपर्छ। १९४७ पछि गान्धी र नेहरूको आलोचना गर्ने दर्जनौँ विद्धान तथा लेखकहरूको सन्देहपूर्ण रूपले हत्या गरिएको छ। यी हत्याको घटनाचाहिँ सहिष्णुवादी होइन! गज्जब छ!

  • शान्तिमान श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here