बेलायती सांसदलाई भारतले प्रवेश दिएन

0
636
बेलायती सांसद डेबी अब्राहम।

नयाँदिल्ली : बेलायती सांसद डेबी अब्राहमलाई भारतीय अध्यागमन अधिकारीले नयाँदिल्लीिस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाटै दुबई फिर्ता गरिदिएका छन्। उनी साेमवार संयुक्त अरब इमिरेट्सको दुबई हुँदै भारत आइपुगेकी थिइन्।

उनी बेलायतको लेबर पार्टीका तर्फबाट सांसद पनि हुन्। अब्राहम गत अगस्तमा भारतले जम्मु कश्मीरबाट धारा ३७० हटाएको विरोध गर्दै आएकी बेलायती सांसद हुन्। उनले भारत सरकार र तत्कालीन बेलायती विदेशमन्त्रीलाई पत्र लेखेरै भारतीय सरकारकाे कडा विरोध गरेकी थिइन्। उनी भारतलाई कश्मीरबारे दबाब दिन बनाइएको ‘कश्मीर फर अल पार्टी पार्लियामेन्टरी ग्रुप’की अध्यक्ष पनि हुन्।

दुबईबाट नयाँदिल्ली आइपुगेकी अब्राहमलाई विमानस्थलमा अधिकारीले राहदानी हेरेपछि टाउको हल्लाउँदै उनलाई भारत प्रवेश गर्ने अनुमति नभएको भन्दै दुबई फिर्ता गरिदिएका हुन्।

भारतीय गृह मन्त्रालयले अब्राहमको ई–भिसा रद्द गरेको स्पष्ट पारेको छ। यसबारेमा उनलाई पहिले नै इमेलमार्फत जानकारी दिएको बताएको छ। भिसा रद्द भएको जानकारी हुँदाहुँदै पनि भारत प्रवेश गर्न खोज्नु अब्राहमको गल्ती भएको भारतले बताएको छ।

अब्राहमले ट्विट गर्दै आफूलाई भारतबाट डिपोर्ट गरिएको जानकारी गराएकी छन्। उनले अक्टुबरमा भिसा भारतका लागि ई-भिसा लिएकी थिइन्। १३ फेब्रुअरीसम्म आफूले इमेल नपाएको र आफ्नो कार्यालय टाढा भएकाले त्यसपछि इमेल नहेरेको उनले दाबी गरेकी छन्। विमानस्थलमै अधिकारीले उनको राहदानी १० मिनेटसम्म लिएका थिए। त्यसपछि प्रवेशाज्ञा अस्वीकृत भएको जानकारी गराउँदै ती अधिकारीले डेस्क छाडेको बताइन्। ‘जब उनी आए, उनी असाध्यै रुखो र रिसाहा देखिएका थिए’, उनले भनेकी छन्।

त्यसपछि उनले आफन्तलाई बोलाएको दाबी गरेकी छन्। उनले भारतका लागि बेलायती उच्चायुक्तलाई सहयोगको लागि आग्रह गरेको बताइएको छ। उनले भारतमा रहेका आफन्तलाई भेट्ने योजना रहेको बताएकी छन्।
‘अब्राहमले ट्वीटरमा लेखेकी छन्, ‘सबैका लागि न्याय र मानवअधिकारका लागि म राजनीतिमा प्रवेश गरेकी हुँ। म आफ्नै सरकार र अन्यसँग यी मुद्दालाई लिएर निरन्तर चुनौती दिनेछु।’

भिसा रद्द भइसकेकी अब्राहमलाई प्रवेश गर्न नदिनु सामान्य भएको गृहमन्त्रालयले जनाएको छ। भारतीय कंग्रेसका नेता शशि थरुरले भने बेलायती सांसदलाई त्यस्तो व्यवहार गर्न नहुने भन्दै प्रजातान्त्रिक आचरण पालन नभएको भन्दै सरकारको विरोध गरेका छन्। -एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here