‘प्रचण्ड’लाई जुत्ता हानियो

0
580
प्रचण्डलाई जुत्ता प्रहार गरेका युवक रतन तिरुवालाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मी।

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि फागुन १८ गते जुत्ता प्रहार भएको छ।
आइतवार दिउँसो काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा भरतमोहन अधिकारी फाउण्डेशनको कार्यक्रममा २२ वर्षीय युवक रतन तिरुवाले प्रचण्डलाई जुत्ता हानेका थिए। भाषण सकेर फर्कंदै गरेका प्रचण्डलाई तिरुवाले दर्शकदीर्घाबाट जुत्ता हानेका थिए। तिरुवाले हानेको जुत्ताले दाहाललाई भने लागेन। सुरक्षाकर्मीले तत्काल रतनलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिँदालिँदै नेकपाका कार्यकर्ताले उनलाई लात्ताले हिर्काए।

प्रहरीलाई बयान दिँदै उनले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको भनेका छन्।

प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेँ  : रतन तिरुवा

 

उनले काठमाडौँमा बसेर लोकसेवाको तयारी गरिरहेका थिए। डल्लुमा एक्लै बस्दै आएका तिरुवा सुर्खेतबाट अमिनको पढाइ पूरा गरी केही समयअघि काठमाडौँ आएका हुन्।

घटना नियोजित नभएको र एक्कासि उत्पन्न आवेगको परिणाम भएको प्रहरीको निष्कर्ष छ। हिरासतमा रहेका तिरुवाले बयानमा क्रममा भनेका छन्, “जुत्ता हान्ने पूर्वयोजना थिएन। प्रचण्डले बोलेका कुरा चित्त बुझेन। शहीदका सपना बिर्सिएको महसुस गरेपछि आफूलाई रोक्न सकिनँ, जुत्ता हिर्काइदिएँ।”

छानबिन समिति गठन
जुत्ता प्रहारबारे छानबिन गर्न समिति गठन भएको छ। महानगरीय अपराध महाशाखा टेकुका एसएसपी सहकुल थापाको नेतृत्वमा सोमवार ३ सदस्यीय छानबिन समिति गठन भएको महानगरीय प्रमुख डीआईजी विश्वराज पोखरेले जानकारी दिए। पोखरेलका अनुसार छानबिन समितिमा थापासहित डीएसपी होबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्सपेक्टर युवराज तिमिल्‍सिना छन्। समितिले छानबिन गरी तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ।

रतन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका समर्थक रहेको खुलेको छ। उनी जुम्लाको सिँजा गाउँपालिका–२ घोर्डिङाका मनु तिरुवाका छोरा हुन्। उनी पूर्वलडाकु वा नेकपाका कार्यकर्ता रहेको भनी खबर अएको थियो। त्यो सूचनालगत्तै सत्तारुढ दल नेकपा जुम्लाले प्रेस विज्ञप्ति जारी गरी उनी नेकपा नभएको दाबी गरेको थियो। नेकपाका जुम्ला अध्यक्ष दिलबहादुर कुँवरले प्रचण्डमाथि आक्रमण गर्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here