हामी कोरोनासँग अलिक बढी डराइरहेका छौँ

0
672
नवीन बीके

म चीनको दक्षिणी प्रान्तको फोशान शहरमा बस्छु। फोशान मार्शल आर्टका बादशाह ब्रुसलीको जन्मस्थान हो। उनको बाल्यकाल यही बितेको थियो। नेपालमा पाइने जति पनि फर्निचर सबै यहीँबाट लगिन्छ।  बाथरूम फिटिङ, स्यानेटरीको सामान, लाइट्सहरू पनि यहीँबाट नेपाल लगिन्छ। यो एक ऐतिहासिक शहर पनि हो। यहाँको जनसंख्या ८५ लाख जति छ र मन्दारिन र क्यान्टोनिज दुबै चिनियाँ बोलिन्छ।

कोरोनाको महामारीले यो शहर पनि अछूतो छैन। यहाँ ५० जना कोविड संक्रमित छन् र उनीहरूका उपचार भइरहेको छ। हाम्रो जनजीवन सामान्य छ, मानिसहरू कसरी काममा जान्छन् भनेर र सब्जीमण्डीमा कसरी किनमेल भएको थियो। त्यो मैले सबै योभन्दा अगाडि जानकारी दिएको थिएँ। म आफैँ पनि अफिस, किनमेल गर्न र केही काम परे बाहिर पनि गइरहेकै छु। हामीमा डरत्रास नभएको होइन तर सुरक्षात्मक उपाय अपनाएर सबै कामकाज गरिरहेका छौँ। हेलचक्र्याइँ नगरी दैनिकी जीवनयापन गर्दा केही फरक पर्दो रहेनछ भनेर मैले यहाँ भोगेको र देखेको छु।

केही मापदण्ड बनाएर र  जनचेतना फैलाउँदै  लकडाउन बिस्तारै खुकुलो पार्दै लैजानु नै देश र जनताका लागि हितकारी हुन्छ।

यो मेरो कर्म क्षेत्र चीनको कुरा भयो। मेरो देश नेपाल भने यतिखेर एक महिनाभन्दा लामो लकडाउनमा छ। नेपालमा अहिले मानिसहरू घरभित्रै थुनिएर बसेका छन्, धेरैको जागीर छैन। दैनिक ज्यालादारी गरेर खानेहरूलाई धेरै मार परेको छ। मानिसहरू अर्को शहरमा अड्किएर बसेका छन्, व्यापार व्यवसाय चौपट छ, मानिसमा नैराश्य छाएको छ। एक किसिमले भन्ने हो भने यो लकडाउन मानिसहरूको घाँटीसम्म आइसकेको छ। साँच्चै भन्ने हो भने अब नेपाली जनता योभन्दा धेरै थेग्न सक्ने स्थितिमा छैनन्। उनीहरू आर्थिक हिसाब वा मानसिक हिसाब कुनै पनि हिसाबले यसलाई धेरै सहन गर्न सक्ने अवस्थामा छैनन्। त्यसैले केही मापदण्ड बनाएर र जनतामा जनचेतना फैलाउँदै बिस्तारै खुकुलो पार्दै लैजानु नै देश र जनताको लागि हितकारी हुन्छ। यो अदृश्य डरलाग्दो भाइरस खतरनाक पक्कै हो तर उचित व्यवस्थापन गरिएमा यसले सोचेजति क्षति गर्न सक्दैन भनेर मैले यहाँ प्रत्यक्ष अनुभूति गर्न पाएको छु।

मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने, ठाउँ ठाउँमा तरल साबुनको झोल र पानीको व्यवस्था गर्ने, स्यानेटाइजरको उचित व्यवस्था गर्ने, प्रयोग गरिएको माक्सको उचित व्यवस्थापन गर्ने, एक आपसमा हात नमिलाउने, अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कने, भोजभतेर र बृहत् भेला नगर्ने, सार्वजनिक सवारीसाधनको प्रयोग नगर्ने, गर्नैपरे एउटा सिटमा एक अर्कामा नछोईकन एकजना मात्रै बस्ने, नाकमुख,आँखाकानमा हात नलैजाने, कुनै पनि सपिङ मल, रेष्टुराँ, अस्पताल,  मालपोत, बैंक आदि ठाउँमा छिर्नुभन्दा पहिला तापक्रम लिनेदेखि लिएर, उसको २-३ हप्ताको ट्राभल हिस्ट्री, सम्पर्क नम्बर, ठेगाना सहितको फार्म भर्न लगाएर रेकर्ड राख्ने, बाहिर गएर आएपछि लगाएको लुगा फुकालेर छुट्टै धुने ठाउँमा राख्ने र सम्भव भएमा नुहाएर सफा लुगा लगाउने, आफूलाई कोरोना सम्बन्धी हल्का १-२ वटा लक्षण देखिएमा तुरुन्तै अस्पताल जाने र परिवारका अन्य सदस्यसँग आपसी दूरी कायम गरेमा कोरोनाबाट बच्न सकिन्छ।

नेपालमा अहिलेसम्म कोरोनाले कसैको पनि ज्यान गएको छैन। अरू बेलाको भन्दा मृत्युदर झन् कम भएको छ। यस्तो अवस्थामा देशै लामो समयसम्म लकडाउन गरेर अभाव र तनावको जिन्दगी बिताउन बाध्य पारिनु उपयुक्त हुँदैन।

अहिले चीनका सबै शहर खुलिसकेका छन्। सबैले आआफ्नो काममा फर्किएर कमाइ गर्न थालिसकेका छन्। चीनमा कोरोनाबाट दैनिक नयाँ संक्रमित नभेटिएको अवस्था पनि होइन, तर उनीहरूको उचित व्यवस्थापन र सुरक्षात्मक व्यवस्थापनले गर्दा सामान्य छ। यो कोरोना संक्रमण हुँदैमा मरिने पनि होइन। नेपालमै पनि कोरोना लागेका जति सबै सफल उपचार गरेर घर फर्किसकेका छन्, नेपालमा अहिलेसम्म कोरोनाले कसैको पनि ज्यान गएको छैन। नेपालमा अहिले अरू बेलाको भन्दा मृत्युदर झन् कम भएको छ। त्यसैले यस्तो अवस्थामा डराएर देशै लामो समयसम्म लकडाउन गरेर अभाव र तनावको जिन्दगी बिताउन बाध्य पारिनु कुनै पनि दृष्टिकोणले उपयुक्त हुँदैन। यसरी जेनतेन मानिस त बाँच्लान् तर यो कोरोनाको महामारीपछि जुन अर्थतन्त्रको महामारी आउनेछ। त्यसले कोरोनाले भन्दा धेरै मान्छे मार्नेछ। त्यसैले सम्बन्धित निकायले तुरुन्त यसतर्फ पनि ध्यान दिन अत्यावश्यक छ र जतिसक्दो जनजीवन सामान्य पार्नु नै श्रेयष्कर हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here