कुमौँका भौल्या (डोट्याली)

0
971
रचनाकार खिमानन्द जोशी

ए कुमौँका भौल्या
गौँ घरका सयानान् सोद्

इतिहासका किताप फल्टा
चौदाससम्म थ्यो जुम्ला राज्य
डोटी गौँडा पुजुन्थ्यो कुमौंको फेराद
एकै माटोदेप्ता हमरो साँजा पितर हमरा
एकै वन एकै पनघाँट हमरो
काली वारि पारि दुयेतिर बिरुडा रुजायालै
गोरा: एकै हुन्छे
न्यौल्या दुयेतिर गायालै ढप एकै हुन्छे

दुयेतिर बजुन्थ्यो झुस्या दमाईको हुड्को
दुयेतिर चलुन्थ्यो कत्युरीको राज्य
सोद्दा खोज्जातिर लाग

ए कुमौँका भौल्या
गौं घरका सयानान् सोद्
दुयेतिर बजुन्थ्यो झुस्या दमाईको हुड्को
दुयेतिर चलुन्थ्यो कत्युरीको राज्य
सोद्दा खोज्जातिर लाग
तेरा बड्डा बज्याको मामकोट
तल्ली मल्ली सोराड होलो
अईललै ईथकि चेली उथ
उथ कि ईथ चलेईको छ धेके

ए कुमौँका भौल्या
गौं घरका सयानान सोद्
दुयेतिर चलुन्थ्या दत्तु जोशीका पोती पाताडा
भाना गंगनाथको जागर
सगुन, आईनौँ बाँतैका आँखर
तेरा रे मेरा नमिल्ल्या तीर एकदुई हुन्ना
मिल्ल्या तीर गणी नाईसक्क्युन
ठुली कुरडी हित्तुचित्तु मिलुन्थ्यो तेरो मेरो
यो बेलीसम्म कि कुरडी भै

ए कुमौंका भौल्या
आब मुस्किल छ ईस्याँ तेरी मेरी कुरडी मिल्ला
डिल्लीवालाका सिकायामाई लागि
लिम्पियाधुरा-कालापानी मेरो हो भुणुन्छै रे
तुईले त जाणेको हुनो है अङ्ग्रेजले हाल्यो ओडो
देप्तान्की धर्तीको नर झुटी क्याई बोलुन्छै,
भुणीदे तेरा डिल्लीवाला शासक खाँई
लिम्पियाधुरासम्म डोट्यालको हो
डोट्याल नेपालको हो

ए कुमौँका भौल्या
घरकी घरिना सम्झी, काखका बाला सम्झी,
माटीमातारी सम्झी, देउपितर सम्झी,
बद्रीनाथ सम्झी, केदारनाथ सम्झी
पशुपतिनाथ सम्झी झुटी नबोली
भुणीदे लिम्पियाधुरा-कालापानी नेपालको हो।

——–नेपाली अनुवाद————-

ए कुमाउँका भाइ
गाउँघरका ठूलाबडालाई सोध

इतिहासका पुस्तक पल्टाऊ
चौदाससम्म थियो जुम्ला राज्य
डोटी गौँडा पुग्दथे कुमाउँका मुद्दा
एउटै माटो देवता हाम्रो
साझा पितृ हाम्रा
एकै वन एकै पानी पधेरो हाम्रो
काली वारि पारि दुबैतिर बिरुडा भिजाए पनि
गोरा: एउटै हुन्छ
न्यौल्या दुबैतिर गाए नि सुरताल एउटै हुन्छ

ए कुमाउँका भाइ
गाउँघरका ठूलाबडालाई सोध
दुबैतिर बज्थ्यो झुस्या दमाईको हुड्को
दुबैतिर चल्थ्यो कत्युरीको राज
सोधी खोजी गर्नतिर लाग
तिम्रा बराजुको मामाघर
तल्लो मल्लो सोराडतिर होला
आजभोलि पनि यताको छोरी उता
उताको यता चलेकै छ देख्यौ

ए कुमाउँका भाइ
गाउँघरका ठूलाबडालाई सोध
दुबैतिर चल्थ्यो दत्तु जोशीको पात्रो
भाना गंगनाथको जागर*
सगुन, आईनौँ बाँतैका आँखर*
तिम्रो र मेरो नमिल्ने एकदुई होलान्
मिल्ने कुरा गन्न सकिदैनन्
ठूलो कुरा हित्तचित्त मिल्थ्यो तिम्रो मेरो
यो हिजोसम्मको कुरा थियो

ए कुमाउँका भाइ
अब मुस्किल ल छ यसरी तिम्रो मेरो कुरा मिल्न
दिल्लीवालाले सिकाएको कुरा मानेर
लिम्पियाधुरा-कालापानी मेरो हो भन्छौ रे
तिम्लाई थाहा हुनुपर्ने हो अङ्ग्रेजले कोरेको सीमा
देवभूमिको मान्छे झूटो किन बोल्छौ
भनिदेऊ तिम्रो दिल्लीवाला शासकलाई
लिम्पियाधुरासम्म डोट्यालको हो
डोट्याल नेपालको हो

ए कुमाउँका भाइ
गृहणी सम्झेर, काखको छोरा सम्झी
मातृभूमि सम्झेर, देवपितृ सम्झी
बद्रीनाथ सम्झेर केदारनाथ सम्झी
पशुपतिनाथ सम्झेर, झूटो नबोली
भनिदेऊ लिम्पियाधुरा-कालापानी नेपालको हो।

शैल्यशिखर-८, दार्चुला।

(जागर = जाग्राम बसेर गरिने देवताको स्तुति, आईनौँ बाँतैका आँखर = उखान र कथा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here