मैले देखेका बर्मन बुढा

0
279
जेठी छोरी विजयाका साथ बर्मन बुढा र उनकी श्रीमती।

नेपाली वामपन्थी आन्दोलनका अग्रणी बर्मन बुढा मगरको साउन ७ गते(२२ जुलाई) बुधवार बिहानै पाटन अस्पतालमा मृत्यु भयो। एक वर्षअघि उनको आन्द्राको क्यान्सरको शल्यक्रिया गरिएको थियो। गाह्रो भएपछि मंगलवार उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो।

कोविड-१९ को त्रास भए पनि बुढाको अन्तिम बिदाइमा देशका शीर्षस्थ व्यक्तित्वदेखि सर्वसाधारणको भीड थियो। यो उनले कमाएको पूँजी थियो। आर्थिक रूपमा त उनी सामान्य व्यक्ति थिए। राजनीतिक हिसाबले भने नेपाली वामपन्थी आन्दोलनमा सहभागी सबै उनको अन्त्येष्टिमा सहभागी भए। अन्त्येष्टिमा सहभागी हुन सम्भव नभएका नेताले विज्ञप्ति जारी गरेर भए पनि बुढालाई श्रद्धा प्रकट गरे।

म गत फागुनमा कुसुन्तीस्थित उनको निवासमा पुगेको थिएँ। विरामी भएदेखि नेता बुढा जेठी छोरी विजयासँगै बस्दै आएका थिए। करिब ४ घण्टा उनीसँग बसेको थिएँ। उनीसँग मगर भाषा, संस्कृति, इतिहास र राजनीतिका बारेमा कुराकानी भए। हामी छिल्लीकोटका भेडीगोठदेखि राप्ती ग्रामीण परियोजना हुँदै अन्तरराष्ट्रिय विषयसम्म प्रवेश गर्‍यौं। निकै छलफल गर्‍यौं। मित्र हिक्मतसिङ रोकाले बुढाको अवस्था चिन्ताजनक भएको संकेत गरिसकेका थिए। म आफ्नो थातथलो राप्ती क्षेत्रको अवस्था, राज्य संरचना, अठार मगरात, खाम मगर भाषा र संस्कारको बारेमा बुझ्न उत्सुक थिएँ। राप्तीमै किन कम्यूनिष्टको उद्गम भयो र सशस्त्र माओवादी आन्दोलन किन थबाङबाटै शुरु भयो भन्ने जस्ता विषय जान्न चाहन्थेँ। माओवादी विद्रोहका पछाडि राज्यसत्ताको नालायकी, जनताका असन्तुष्टि त छँदै थिए, त्यसमा मध्यपश्चिमका पहाडी जिल्लामा गाँजाखेती बन्द गरी आर्थिक नाकाबन्दी गरिनु र राप्ती ग्रामीण परियोजनाको सक्रियता पनि जोडिन पुग्छन्। यी कुराको रहस्य पनि फेला पर्छ कि भन्ने आशा राखेको थिएँ। केही सातामा पुनः भेट्ने वाचा गरेका थियौं।

त्यसलगत्तै मुकुटे विषाणु (कोरोना भाइरस)को सन्त्रास शुरु भयो। मुकुटे विषाणुका कारण राज्यस्तरमै गरिएको बन्द (लक डाउन) खुल्दाको दिनै उनको निधन भयो। अहिलेसम्म थाहा भएअनुसार हामीसँगको छलफल नै बुढाको अन्तिम छलफल थियो।

मैले खोजेका समग्र विषय त पाउन सकिनँ। केही कुरा भने मैले फेला पारेँ। तिनै कुरा यहाँ प्रस्तुत गर्छु।

हिक्मत रोकाको बुझाइमा बर्मन बुढा
बर्मन बुढा मगर मेरा ३ फुपूहरूमध्ये कान्छी फुपू भीमाका श्रीमान् हुनुहुन्छ। हामी दुवैको घर थबाङ हो। ठूलो गाउँ भएका कारण हाम्रो घर र वहाँहरुको घरको बीचमा ६ घर थिए। वहाँका माइला छोरा नरेश मेरै उमेरका भएका कारण सँगै खेल्ने र स्कूल जाने गर्थ्यौ। बर्मन फुपाजुलाई मैले झण्डै ५ दशक पहिलेदेखि नै चिन्छु। वहाँ त्यस बेला गाउँको मुखिया हुनुहुन्थ्यो र पछि प्रधानपञ्च पनि हुनु भयो। वहाँ धेरै समय जेल पनि बस्नु भयो। म २०४४ सालमा बेलायती सेनामा भर्ती भएर हडकङ गएँ। पछि २०४८ सालमा सांसद हुनु भएको रहेछ।

हरेक पटक छुट्टीमा जाँदा म वहाँलाई नभेटी विदेश फर्किंदैनथेँ। अहिले त थबाङमा मेरो घर भत्किसक्यो र गाउँ जाँदा वहाँहरूकै घरमा बस्छु। वहाँ कुशल नेतृत्व गर्ने क्षमता भएको र छुवाछूतका विरोधी हुनुहुन्थ्यो। मैले थाहा पाएदेखि घरमा नै छुवाछूत अन्त्यका लागि कामी दमाई जो सुकै भए पनि आफ्नै दाजुभाइ हुन् भनेर घरमा भित्र्याउनु हुन्थ्यो। मगरमा सगुनका रूपमा रक्सी ल्याउने चलन थियो। त्यसैअनुसार फुपूले माइतमा आउँदा रक्सी ल्याउनु हुन्थ्यो। वहाँ कहिल्यै नरिसाउने र केही भन्यो भने पनि मुसुक्क हाँसेरै टारिदिने गर्नुहुन्थ्यो।

वहाँले पुराना कुरा सुनाउनु हुन्थ्यो। मैले फेरि त्यस्तै कुरा सोधिरहन्थेँ। वहाँ भन्नु हुन्थ्यो- तिमीले मलाई सोधे झैं हामीले पनि पहिलेका बूढापाखालाई सोधेको भए हुने रहेछ। सोधेको भए पुराना कुरा धेरै थाहा हुने रहेछ। आफ्नो भाषा र इतिहासप्रति वहाँ सजग हुनुहुन्थ्यो। परम्परागत पोशाक कछाड वहाँले कहिल्यै छोड्नु भएन। वहाँ सादा जीवनमा रमाउनुहुन्थ्यो। २०७६ सालको फागुनमा म नेपाल गएका वेला वहाँसँगको मिलन नै अन्तिम हुन पुग्यो। त्यतिखेर कुसुन्तीमा रातभर इतिहासका गफ गरेका थियौँ। दाङ देउखुरीको कोइलावासदेखि खाली खुट्टा नुनतेल बोकेका कुरा, छिल्लीकोट काँटातिर भेडीगोठ बसेका र राजनीतिका कुरा सुनाउनु भयो। त्यतिखेर मैले वहाँमा केही मलीनता देखेको थिएँ। यो भेटपछि म केही चिन्तित भएको थिएँ। मैले वहाँको स्वास्थ्यलाभको कामना गर्दै खाता अर्पण गरेको थिएँ। वहाँसँग भएका ऐतिहासिक ज्ञान लिने मेरो सपना अधुरै रह्यो। एउटा असल अभिभावक गुमाउँदा पीडाबोध भएको छ।
आउ प्राकृतिकस बिदा रैकुव मुख्या सेर्जा बोबोई।

 

विक्रम संवत् १९८७ साल साउन १७ गते जन्मिएका बुढाको बाल्यकाल सहज थिएन। मध्यपश्चिमको विकटमा रहेको पहाडी जीवन, त्यतिखेर लगाउने लुगा पाउन नै गाह्रो। नेपालीको समग्र अवस्था यसबाट चित्रित हुन्छ।

बुढा सम्झन्छन्, ती लुगा पनि घरमै बनाइन्थ्यो। भाङो लगायतका बोटको बोक्राबाट निकालेको धागोलाई बाटेर लुगा त के भनौं आङ ढाक्ने वस्तु बनाइन्थ्यो। त्यस्ता सामग्री बलिया हुन्थे। त्यो वेला पैसा पनि हुँदैनथ्यो। आपसमा सामान साटेर काम चलाइन्थ्यो। आफूले खाने अन्नबाली घरमै उब्जाइन्थ्यो भने नुन, मट्टीतेल लिन कोइलावास बजार पुग्नु पर्थ्यो। पशुपालन गर्ने गरिन्थ्यो। भेडीगोठ जाने चलन थियो। भेडीगोठ राख्न थबाङबाट दाङको सीमा जोडिएको छिल्लीकोट पुग्नुपर्ने। यस्तो अवस्थामा पढ्ने लेख्ने त निकै टाढाको कुरा थियो।

थबाङस्थित नेता बुढाको घर।

२००७ सालको परिवर्तनसँगै राणाशासन त सकिन्छ। परिवर्तनको मूल मर्म आत्मसात हुन नसक्दा अवस्था उस्तै रहन्छ। पात्र फेरिए पनि प्रवृत्ति फेरिँदैन। गाउँमा मुखियाहरूको शासन कायमै हुन्छ। २४ वर्षको उमेर पुगिसकेको हुन्छ, उनमा विस्तारै विद्रोही भावना जन्मिसकेको हुन्छ। थिचोमिचो सहनु हुन्न भन्ने उनीलाई लाग्छ। अति भएपछि उनले मुखियाको विरोध गर्छन्। उनी कुनै पनि कम्यूनिष्ट सिद्धान्त पढेर विद्रोही भएका थिएनन्। उनमा त्यो चेत अन्तरात्मादेखि प्रस्फुटन भएको थियो। अर्थात् उनी पहिला अन्यायका विरुद्ध लड्न सिके। त्यसपछि उनी कम्यूनिष्ट बने। नेपालमा सिद्धान्त रटेर कम्यूनिष्ट बन्ने र अन्यायका विरुद्ध लड्न सिकेपछि कम्यूनिष्ट बन्ने नेता र कार्यकर्ताबीचको भिन्नता यहीँनेर देखिन्छ। बुढालगायतका युवाले भेँडीगोठमा बसेर कृष्ण झाँक्री मगरसहितका नेतालाई तह लगाउने सल्लाह गरी झाँक्रीलाई कुटे। त्यसपछि बुढाको समूहलाई एक महिना जेल हालियो।

जेलमा बुढाको कम्यूनिष्ट नेताहरू मोहनविक्रम सिंह र खगुलाल गुरुङसँग भेट भयो। यहीँबाट बर्मन बुढाको जीवनमा नयाँ मोड आयो। उनी कम्यूनिष्ट बन्नपुगे। झाँक्री पनि झगडिया भएका कारण जेलमै थिए। यतिखेर नेपालमा झाँक्री पनि जेलमै कम्यूनिष्ट बने। जेलबाट छुटेपछि २०१३ सालमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले बुढा र झाँक्री पक्षका प्रतिनिधि राखेर थबाङमा कम्यूनिष्ट संगठन बनाए।

नेपालमा कम्यूनिष्ट पार्टी प्रतिबन्धित भएका वेला २०१२ सालमा बुढाले किसान संघ बनाएका थिए। हक्की स्वभावका बुढाले कृषि पेशासँगै कम्यूनिष्ट प्रभाव पनि फैलाउँदै लगे। उनी सरकारी दमन र अन्यायविरुद्ध लडिरहे। २०१५ सालमा गाउँलेले बुढालाई मुखिया चुने। २०१५ सालको चुनावमा थबाङको सबै भोट कम्यूनिष्टलाई गयो। यसको अगुवाइ पनि बुढाले गरे।

गाउँका मुखिया, प्रधानपञ्च हुँदै सांसदसम्म भए। उनले आफ्नो मौलिक पोशाक कछाड कहिले पनि छोडेनन्। संसद् भवन होस् वा घर सधैँ कछाड लगाए। २०४८ सालमा सांसद भएदेखि २०५१ सालमा संसद् भंग नहुँदासम्म कछाड लगाएरै उनी संसद् पुग्थे। संसद्मा कछाड लगाएर प्रवेश गर्न खोज्दा विरोध गरिएको बुढाको अनुभव थियो। जन्मजात पोशाक भएकाले अरू पोशाक लगाउन नसक्ने अड्डी कसेपछि कछाडमै प्रवेश गर्न दिइएको थियो। कसैले केही भन्यो भने बुढाको तर्क हुन्थ्यो, ‘कछाड विदेशी हो र? मैले राष्ट्रिय पोशाक लगाएको छु। नेपालका धेरै ठाउँमा अहिले पनि यस्तै लुगा लगाउँछन्। फेरि कछाड मगर समुदायको पहिचान हो र त्यसका लागि लड्नेछु ।’

काठमाडौँका मान्छेलाई भने बुढाको पोशाक अनौठो लाग्थ्यो। छातीमा दुवैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर सिंहदरबार छिर्दा धेरैले अनौठो मानेर हेर्थे। आर्थिक लोभ नभएका र जनताको पक्षमा काम गर्न रुचाउने बुढाको साधारण मौलिक पहिरन, खानपान र जीवनशैली पहिचान बन्यो।

उनको बोल्ने शैली पनि रमाइलो थियो। २०४८ साल (सन् १९९२) मा आमचुनावमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट उम्मेदवार रोल्पाको क्षेत्र नं. १ बाट सांसद बने। बुढा बोल्न लागेपछि संसद्‌मा सबैले चासोपूर्वक सुन्थे। गाउँले भाषामा ठट्यौली पारामा उनले रोल्पाली जनताका समस्या संसद्‌मा सुनाउँथे। संसद्‌मा भएका गतिविधि फेरि गाउँमा लगेर सुनाउने बुढाको बानी थियो। अर्थात् जनताको चासो भएकाले ती सबै जनतालाई जानकारी दिनु आफ्नो कर्तव्य भएको उनको भनाइ थियो।

पछि बुढाकै जन्मथलो थबाङबाटै जनयुद्धमा शुरु भयो। बुढा प्रत्यक्ष जनयुद्धमा होमिएनन्। उनी कम्यूनिष्ट एक हुनुपर्छ भन्ने पक्षमा थिए। माओवादी पार्टी विभाजित हुँदा उनी निराश देखिन्थे। हामीसँगको भेटमा उनले पटक पटक यो दोहोर्‍याइरहे। उनले कैयौंपटक किस्न (कृष्णबहादुर महरा)को नाम लिए। अनन्त र किस्नप्रति उनको केही निकटता झल्किएको जस्तो लाग्थ्यो। कम्यूनिष्ट नेताहरूले सही काम नगरेको उनको गुनासो थियो। सबै सत्तामोहमा फसेको भन्दै उनले चिन्ता व्यक्त गर्थे। पहिले पहिले माओवादी नेताहरू आउने गरे पनि पछिल्लो चरणमा भेट पातलिएको उनको भोगाइ थियो।

राजनीतिले उचित मार्ग नसमातेको उनको धारणा थियो। जनताका लागि कुनै काम हुन नसकेको भन्ने उनको असन्तुष्टि झल्किन्थ्यो। शायद त्यसै कारणले होला उनले आफू कुनै पार्टीका नेतासँग आशा नभएको बताउँथे।

माओवादी विद्रोहपछि बुढा थबाङ फर्किएका थिए। गाउँ समाजमा बसेका उनलाई पार्टी फुटेपछि दुवै माओवादीले आ-आफ्नो पक्षमा तानातान गरे तर बुढा कतै लागेनन्। आफ्नो नाम दुवैतिर राखेपछि कतै नलाग्ने बताएका थिए। यद्यपि उनको निधनपश्चात् नेकपाले आफ्ना केन्द्रीय कमिटीका सल्लाहकार भएको बतायो। विप्लव र मोहन वैद्यले आफ्ना केन्द्रीय समितिका सल्लाहकार भएको बताए। हो, माओवादी र एमालेबीच एकता नहुँदासम्म उनी माओवादीको केन्द्रीय सल्लाहकार बनाइए पनि उनी सहभागी हुँदैनथे।

नेपालका कम्यूनिष्ट पार्टीले आफ्नो इज्जतका लागि बर्मन बुढालाई आफ्नो पार्टीमा राख्न चाहन्थे। सत्तारुढ नेकपालगायत सबैले उनलाई आफ्नो पार्टीको भएको दाबी गरिरहे। यसो गर्नुमा बुढाको प्रभाव र लोकप्रियता थियो। उनको अहिले पनि मध्यपश्चिममा उनलाई आदर्श मान्ने ठूलो समूह छ। यसैगरी उनको सादगी र त्यागको प्रशंसा सबैले गर्छन्। मगर युवामा उनको सशक्त प्रभाव छ।

त्यसैले त बुढाको अन्त्येष्टिमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य लगायत सहभागी थिए।

उनी किन जनप्रिय रहे

उनमा अत्याचार सहनु हुन्न भन्ने सशक्त चेतना थियो। उनको उदय नै थिचोमिचोको विरोध गर्दा भएको थियो। त्यसैले उनी विद्रोहको प्रतीक बनिरहे। उनमा राजनीतिक महत्त्वाकांक्षा थिएन। उनलाई २०४८ सालको निर्वाचनमा पनि उम्मेदवार बन्दिनँ भन्दाभन्दै जबरजस्ती रूपमा पार्टीको आदेश भन्दै निर्वाचनमा उतारिएको थियो। ६० वर्ष नाघेको मान्छेलाई सांसद नबनाउनु भन्ने उनको आग्रह थियो।

उनको सादगीपूर्ण जीवन अर्को उनको विशेषता थियो। उनको खानपान र पहिरन अति सामान्य थिए। मगर समुदायमा प्रचलित कछाडलाई उनले राष्ट्रिय पोशाकको रूपमा सिंहदरवारमा मान्यता दिलाएका थिए। उनले हिम्मतका साथ यो नेपालका धेरै मान्छेले लगाउने पोशाक हो भनेर प्रस्तुत भए।

कम्यूनिष्ट नेता भए पनि उनले परम्परागत पर्वको उपेक्षा गर्ने काम गरेनन्। माघे संक्रान्ति, भूमे पूजा जस्ता मगरका चाडवाडमा उनी उत्तिकै सक्रिय हुन्थे। यसैले त उनको अन्त्येष्टिमा खाता र रामनामी दुवै प्रयोग गरिएका थिए।

अर्को उनको बोली सहज थियो। उनी सहजतापूर्वक बोलीचाली गर्थे। उनी मातृभाषालाई जोड दिन्थे। म नेता हुँ, तिमीहरू जनता वा कार्यकर्ता हौ भन्ने खालको दम्भ उनमा देखिएन। ठेक्कापट्टा सरुवा जस्ता विषयदेखि उनी टाढै रहे। प्रधानपञ्चदेखि सांसद हुँदा पनि यस्ता आर्थिक विवादमुक्त रहे।

यी कारणले बर्मन बुढा नेपालको वाम राजनीतिमा आदर्श व्यक्तित्व रहे।

प्रस्तुतिः डिल्ली आचार्य

 

बुढाप्रति श्रद्धा प्रकट गर्दै मोहन वैद्य।

 

बुढालाई श्रद्धाञ्जलि दिन आर्यघाट पुगेका नेकपाका नेताहरू।
राष्ट्रिय झण्डा ओढाउँदै मन्त्री वर्षमान पुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here