प्रमाणपत्र दिने कारखाना मात्रै हुन् हाम्रा स्कूल, कलेज !

0
1150

मैले लामो समय कक्षा ८ देखि उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई पढाएँ। केही समय स्नातक तहका विद्यार्थीलाई पनि पढाउने मौका पाएँ। यो बीचमा मैले केही अनुभव बटुलेँ। ती छात्रछात्रासँग नजिक हुने र उनीहरूका समस्या बुझ्ने प्रयास गरेँ। विस्तारै उनीहरू पनि खुल्दै गए र मलाई आफ्ना समस्या पनि बताउन थाले।

बुझाउनको साटो हामी नोट लेखाउन मात्रै ज्यादा केन्द्रित भयौँ।

नेपालमा बोर्ड एक्जाम पास गर्न मात्रै पढाइने रहेछ। जसरी अहिलेका विद्यार्थीले पढ्दै छन्, मैले पनि त्यसैगरी नै पढेँ। बुझ्न, सिक्न नपाईकनै स्कूले दिनहरू सकिन्छन्। स्कूल त पूरा गरियो। उच्च माध्यमिक तहमा पुगेपछि त फरक होला भन्ने थियो। त्यो पनि नहुने क्या। ११ र १२ कक्षाको पढाइ त ७ महिना पनि हुन्न। किताबहरू भने मोटा मोटा संख्या पनि धेरै। अझ विज्ञानतिर हो भने त १२/१४ वटासम्म हुन्थे र ती भित्र समेटिएका थुप्रै शीर्षक। विद्यार्थीसँग पढ्ने तरिका नहुँदा अल्झेको पनि भेटिने। त्यसलाई बुझाउनको साटो हामी नोट लेखाउन मात्रै ज्यादा केन्द्रित भयौँ।

दश कक्षा पढ्दा मैले एकपटक भाइ (आफन्ती काकाको छोरा)को स्कूल जाने मौका पाएँ। काकाले नभ्याउने भएपछि अभिभावकसँग बोलाइएको छलफलमा म गएँ। ऊ भर्खरै १० पढ्दै थियो। गणित र विज्ञानमा अधिकांश विद्यार्थी किन कमजोर भए भन्ने प्रश्न धेरै उठ्यो। मैले पनि गणितका केही उदाहरण दिएँ। त्यस वेला म होम ट्युसन पढाउन थालिसकेको थिएँ। केही जानकारी बटुल्न थालिसकेको थिएँ। अंक गणितमा नाफा/नोक्सान पढाउँदा सूत्र कण्ठ गर्न होइन त्यसलाई दायाँबायाँ गर्न सिकाउँदा विद्यार्थीले चाँडो सिक्छ भनेर त्यस वेला भनेको सम्झन्छु। प्रायजसो शिक्षकले सूत्र पूराका पूरा रटाउँदा रहेछन्। यसो हुँदा अधिकांश मध्यम स्तरका भनिएका विद्यार्थी सूत्रमै रुमलिने रहेछन्। त्यस्ता छात्रछात्रालाई हिसाब गाह्रो लाग्नु स्वाभाविक देखियो। त्यस्ता विद्यार्थी गणित भनेपछि पछिसम्म पनि तर्कन्छन्।

त्यतिखेर म कक्षा ९ मा पढ्ने विद्यार्थीलाई पढाउँथेँ। होम ट्युसनमा गणित, विज्ञान र सामाजिक शिक्षालाई ज्यादा जोड गरेर पढाइन्थ्यो। ती विद्यार्थीले स्कूलमा सर/मिसले पढाउँदा मैले पढाए जसरी नबुझेको गुनासो गरिन्। हुन पनि स्कूलमा शिक्षकलाई पनि पाठ्यक्रम भ्याउनुपर्ने दबाब हुन्छ। म स्वयम् पनि केही तयारी गरेर जान्थेँ। बुझाउन कसरी सकिन्छ भन्ने ध्यानमा केन्द्रित हुन्थेँ।

स्नातक तहमा सोसियल वर्क (BSW) को फर्स्ट/सेकेन्ड एयर पढ्ने बहिनीको हालत त्यस्तै थियो। राजधानीकै नाम चलेकै निजी कलेजमा भर्ना गरिएको रहेछ। कलेज गएर शिक्षकले पढाएको नबुझेकाले दिक्क लाग्छ भनेर कक्षामा निकै कम उपस्थित हुँदिरहिछिन्। बोर्डको परीक्षा आएपछि झण्डै २ महिनाअगाडि मलाई बोलाइन्थ्यो। जसोतसो पढाएर बोर्डको परीक्षा पास गर्न भूमिका निर्वाह गरेँ कि भन्ने लाग्छ। स्वयम् स्नातकमा पढाइने अङ्ग्रेजी साहित्यबाट विद्यार्थीलाई पढ्न उत्सुक बनाउन सकिन्न भनेपछि अरू ‘निरस’ विषयको हाल के होला? स्नातक तहका अरू विषयमा पनि यस्तै कथाव्यथा त होलान् नि?

पढाएका कुरा मस्तिष्कमा पुगेर नखेलेसम्म कोही जिज्ञासु हुन सक्दैन अनि कताबाट प्रश्न गरून् ?

अचेल १२ कक्षाकी बहिनीलाई पढाउँदै छु। मैले पनि ती किताब हेर्न छोडेको ५ वर्ष भइसक्यो। तैपनि आफूले पुनःस्मरण गर्दै उनलाई थोरै थोरै भए पनि विशेष तरिकाले पढाएँ। कलेजमा नोट्स मात्रै लेखाउँछ, कोर्स त भ्याइँदैन दाइ भन्छिन्। सरहरू आउनुहुन्छ, कोही सर त अक्षर राम्रो छैन भन्दै घरबाट ल्याएको नोट्स सार्दै ह्वाइटबोर्डमा लेख्न लगाउनुहुन्छ र हामी त्यही सार्छौँ भनिन्। मलाई यसो भन्ने विद्यार्थी मिहिनेती पनि छिन्। यसअघि पनि मैले ९/१० मा पढाएको थिएँ। त्यति वेला पनि राम्रो अंक ल्याएकी थिइन्। यिनीसँग पढाइसकेर फुर्सदमा म स्कूले पढाइ लगायत विविध विषयमा मौकामा गफिन्थेँ। यिनले ११/१२ पढ्दा कहिले प्रश्न पनि गरिनन् रे, हुन पनि पढाएका कुरा मस्तिष्कमा पुगेर नखेलेसम्म कोही जिज्ञासु हुन सक्दैन अनि कताबाट प्रश्न गरून्? अधिकांश शिक्षकले विद्यार्थीलाई गम्भीर भएर भित्रसम्म पुगेर पढाउँदैनन्।

सामाजिक शिक्षा ११/१२ मा राख्ने कुरो छ। सामाजिक शिक्षा पाठ्यक्रममा राख्ने कुरो सुन्नेबित्तिकै उनीहरूमा ऊर्जा नै छैन। आफ्नै वरपरका कुरा राखिएका विषयसँग पनि विद्यार्थी किन तर्सिन्छन्? सामाजिक शिक्षा भनेको गफ मात्रै बुझाइयो, इतिहासका मिति मात्रै घोकाइयो। आफ्नै देशको इतिहासबारे बुझाएर त्यसलाई रसिलो शैलीमा पढाउने शिक्षक कति छन्? समाज, राजनीति, इतिहास, भूगोल र राष्ट्रबारे ज्ञान राख्ने शिक्षक कति छन्? स्वयम् पढाउनेले कसरी पढाउँदै छ भन्ने कुरोले पढ्नेमा जागरण ल्याउने होइन र? अनि पो ती जिज्ञासु हुन्छन्। गणित, विज्ञानको मात्रै होइन सामाजिक शिक्षाको हाल पनि त्यस्तै छ।

पाठ्यक्रमबाट हामीले के सिकाउन खोजेका हौँ, उद्देश्य  प्रष्ट त हुनुपर्‍यो। हामीकहाँ त्यो हुन सकेन।

म आफैँ १० कक्षाको विद्यार्थी छँदाको घटना स्मरण गर्छु। कक्षाका म लगायत १/२ जनालाई मात्रै सामाजिक शिक्षा सजिलो लाग्ने। बाँकीलाई गाह्रो। तैपनि परीक्षालाई केन्द्रित गरी पढाइन्थ्यो। एसएलसी परीक्षामा त्यो वर्ष प्रश्न सोचेभन्दा भिन्न प्रकारको आयो। एकातिर सामाजिक शिक्षाका गुदी राम्ररी बुझ्न नपाएका विद्यार्थीहरू फरक ढाँचाको प्रश्नपत्रसँग भिड्न परेपछि चिन्तित बने।

हाम्रो पाठ्यक्रमको हाल पनि त्यही छ। विद्यार्थीले देशकै भूगोल राम्रोसँग जानेको हुँदैन अनि उसले अंक प्राप्त गर्नकै लागि महादेशको नक्सा अभ्यास गरी जानुपर्ने? इतिहासको त झन् हाल त्यस्तै छ? अन्य पढ्नै हुन्न भन्ने होइन तर पाठ्यक्रमबाट हामीले के सिकाउन खोजेका हौँ, त्यसको उद्देश्य पनि प्रष्ट त हुनुपर्‍यो। हामीकहाँ त्यो हुन सकेन।

यो विषयमा स्कूल/कलेजतिरका सरहरूसँग पनि जिज्ञासा राखेको थिएँ। अचेल विद्यार्थीहरू पनि अन्तिम जाँच आउन थाल्दा महत्त्वपूर्ण प्रश्न र पाठ भनिदिन आग्रह गर्छन् रे। सीमित प्रश्नहरू घेरा भित्र रहेर जाँच पास गर्न पाए हुन्थ्यो भन्ने मानसिकताले हाम्रो सिकाइ र बुझाइ कता पुग्छ? फेरि हाम्रा पाठ्यक्रम पनि ज्यादा भएको हो कि पनि भन्छन्। समय थोरै र पाठ्यक्रम ज्यादा हुँदा स्कूलका निम्न माध्यमिक तहका विद्यार्थीलाई कक्षामा पढाउँदा परीक्षा केन्द्रित भएरै पढाउनुपर्ने बाध्यता हुन्छ।

हामी विद्यार्थी हैन परीक्षार्थी मात्र उत्पादन गर्दा रहेछौँ।

पाठ्यक्रम नभ्याउने अर्को कुरो त छँदै छ। विश्वविद्यालय तहमै यस्ता खाले समस्या ज्यूँका त्यूँ छन्। कम्तीमा पढाइ नसकिने भनेपछि त्यसरी पाठ्यक्रम किन तयार गर्ने? समयअनुसार परिमार्जन र परिष्कृत गर्न पनि सकिन्छ होला? स्नातक पढ्दै गरेका मित्रहरू, भाइबहिनीको गुनासो पनि उत्तिकै सुन्न पाइन्छ। सेमेस्टरका परीक्षा आउनुअघि निश्चित पाठ्यभार नभ्याएर सरलाई भन्दा बाँकी आफैँ पढ्नु भन्ने उर्दी आउँछ रे। अनि कतिपय कलेजमा पाठहरू सकिएको छैन भन्दा जति पढाएको छ, त्यति पढ्ने, त्यतैबाट मात्रै आउँछ, अरू पढ्नुपर्दैन भन्ने जवाफ आउँछ रे। यसले पनि स्पष्ट हुन्छ- हामी केका लागि पढ्ने रहेछौँ। यस मानेमा त हामी “विद्यार्थी” हैन “परीक्षार्थी” मात्र उत्पादन गर्दो रहेछौँ। स्कूल हुँदै स्नातकदेखि स्नातकोत्तर तहसम्मै यस्तै छ। अन्त्यमा शिक्षा सेवा आयोग, लोकसेवा आयोग, विश्वविद्यालय सेवा आयोग सबैमा यसैगरी “परीक्षा”लाई मात्र केन्द्रित गराएर जागिरे बनाइन्छ।

शिक्षक मात्रै दोषी भन्ने कुरो होइन। शिक्षकहरूलाई पनि दबाब छ। यसमा सबै पक्षको आ-आफ्नै भूमिका रहेको छ तर विद्यार्थीले राम्रो पढ्न पाउनुपर्छ भन्ने कुरो हो। यसै सन्दर्भमा डिल्ली आचार्य भन्नुहुन्छ, “नेपालमा पढाउन सक्ने शिक्षक र त्यो किसिमको वातावरण तयार गर्ने शैक्षिक संस्था पनि निकै कम छन्। कतिपय अभिभावकमा पनि समस्या छ। पाठ्यक्रम र पाठ्यपुस्तकको फरक नबुझ्ने शैक्षिक संस्था र शिक्षक छौँ। तिम्री आमाले खाना पकाउँदा के केमा न्यूटनका कुन कुन सिद्धान्त लागू हुन्छन् भन्ने खालका प्रश्न सोधौँ अनि शिक्षक र विद्यार्थी दुवैलै बुझ्नैपर्ने अवस्था हुन्छ।”

दबाबमा भएपछि सिक्ने सिकाउने कुरामा त असर पर्ने भयो। हामीले अब सबैले सबै कुरा जान्नैपर्छ भन्ने मानसिकता त्याग्नुपर्छ।

यसै सन्दर्भमा लामो समय अध्यापन गराउनु भएका मेरा गुरु परशुराम पौड्याल लेख्नुहुन्छ, “मैले तिमीलाई ९/१० कक्षामा ऐच्छिक गणित पढाएको थिएँ। मलाई अझै सम्झना छ, मैले बोर्डमा हिसाब गरिसक्नु पहिल्यै तिम्रो उत्तर आइसकेको हुन्थ्यो। केही विद्यार्थी थिए जसलाई निकै कठिन हुन्थ्यो गणित। उनीहरूले बुझेका छैनन् भन्ने थाहा हुँदाहुँदै पनि समय सकिएर कक्षा छोडेर जानुपर्ने हुन्थ्यो।” सरकार शिक्षाबाट पन्छिन खोज्छ। निजी विद्यालयका अभिभावकले आफ्ना छोराछोरीको नतिजालाई शुल्कसँग तुलना गर्छन्। अनि त विद्यालय व्यवस्थापन, शिक्षक र विद्यार्थी दबाबमा हुने नै भए। दबाबमा भएपछि सिक्ने सिकाउने कुरामा त असर पर्ने भयो। हामीले अब सबैले सबै कुरा जान्नैपर्छ भन्ने मानसिकता त्याग्न सक्नुपर्छ।

उच्च शिक्षामा हाम्रो गडबडी छ। त्यसैले अहिले प्रश्न गर्नै नसक्ने पुस्ता निर्माण भएको। यस्तो पुस्ता तयार गर्नु हाम्रो उद्देश्य हैन। संशय र तर्क गर्न नसक्ने पुस्ताले देशलाई गति दिन सक्दैन।

शिक्षक मात्रै एकोहोरो दोषी होइनन्। विद्यार्थीहरूमाथि पनि प्रश्न तेर्सिएका छन्। शिक्षाविद् केदारभक्त माथेमा भन्नुहुन्छ, “हाम्रो विश्वविद्यालयले विद्यार्थीहरूमा आलोचनात्मक चेत पैदा गर्नै सकेन। प्रश्न पल्टाउनुस्, पढाइ हेर्नुस्। विद्यार्थी कक्षामा पढाएको कुरा छलफल गर्दै क्यान्टिनमा पुगोस्। त्यहाँ पनि छलफल गरोस्, बस चढ्दा पनि छलफल होस्। तब पो विश्वविद्यालय। नेपालका विभिन्न मुद्दामा बहस हुनुपर्‍यो। इतिहास, भूगोल, नेपालको सामाजिक अवस्था केही बुझेको छैन। शिक्षाको कमजोरी छ, यहाँ। ४०% व्यवस्थापन पढ्छन्। यस्तो पनि हुन्छ? सन् २०१३ मा चीनमा ४०% विज्ञानप्रविधि, गणित र इन्जिनियरिङ पढ्थे। उच्च शिक्षामा हाम्रो गडबडी छ। त्यसैले पनि हो अहिले प्रश्न गर्नै नसक्ने पुस्ता निर्माण भएको। तलको आधार नै बनेन। सामाजिक शिक्षाबारे बच्चामा गरमागरम बहस हुनुपर्ने हो।”

यस्तो पुस्ता तयार गर्नु हाम्रो उद्देश्य त हैन होला। संशय र तर्क गर्न नसक्ने पुस्ता तयार गर्दै त छैनौँ?

शैक्षिक क्षेत्रबारे गम्भीर विमर्श गरेर अघि बढ्ने बेला भएन र? स्कुल, कलेजको पढाइमा प्रश्न कसले गर्ने? पाठ्यक्रमका समस्या उस्तै छन्। शिक्षकका आफ्नै समस्या छन्, विद्यार्थीका अनगन्ती समस्या त माथि नै उल्लेख भइसके। यो १, २ जना विद्यार्थीको कुरो होइन। प्रमाणपत्रकै लागि मात्रै कलेज र स्कूल सञ्चालन गरेका हौँ भने कुनै अर्थ छैन। गतिशील समाजका लागि विद्यार्थीलाई जिज्ञासु बनाउनु, पढाउनु र पढ्नु सबैको आआफ्नै ठाउँमा जिम्मेवारी बोध गर्नुपर्छ। एउटा प्रमाणपत्रकै लागि वर्षाै‌ स्कूल, कलेज गएर हामीले के सिक्ने? कि स्कूल कलेज कारखाना हो भन्नुपर्‍यो। होइन भने त्यो साँच्चै सिक्ने ठाउँ बन्नुपर्‍यो।

बेल्कोस्कीको कथन छ, “हरेक युगको एउटा विशिष्ट पात्र मात्र होइन, एउटा मुख्य प्रश्न पनि हुन्छ। एउटा यस्तो प्रश्न जसका माध्यमबाट त्यो युगको विषयमा फैसला गर्न सकिन्छ। जस्तो- `के हुँदैछ? दोषी को हो? अब के गर्ने? गर्ने कि नगर्ने?” शायद यी प्रश्नले उत्तर पनि खोजेका छन्। हाम्रा शैक्षिक संस्था (स्कूल, कलेज र विश्वविद्यालय)हरूले गम्भीर विचार र विमर्शसहित अघि बढ्ने कि नबढ्ने? आगामी दिनमा हामी कसरी अघि बढ्न सक्छौं?
नेपाली पनि नासा पुग्यो, अक्सफोर्ड पुगे भनेर १, २ जनाका गाथामै रमाएर बस्ने कि देशमै शैक्षिक क्षेत्रबारे सोचेर अघि बढ्ने? यो त भावी पुस्ताको कुरा हो। भविष्यमा देशलाई मार्गदर्शन गर्दै राष्ट्र हाँक्ने जनशक्ति तयार गर्ने विषयमा पनि हामी बेपर्वाह बन्दै छौँ। शिक्षक, विद्यार्थी र अभिभावकको मात्रै सवाल होइन सिंगो देश र हाम्रा सन्ततिको लागि पनि हो। हाम्रा स्कूल, कलेज र विश्वविद्यालयलाई आफ्ना सन्तानको चौतर्फी विकास गर्ने थलो बनाउने कि कारखाना?

-दीपकिरण खड्का
स्नातक तह (चिकित्सा शास्त्र)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here