परिवर्तनको शुरुवात आफूबाटै (म्यान्मा)

0
174

धेरै पहिले एकजना महात्मा यात्रामा निस्किएछन् । यस्तै क्रममा अचानक उनको दृष्टि मकैबारीमा पर्छ । यात्राले थाकेर लखतरान भएका उनी मकैबारी देखेपछि निकै भोकाएको अनुभव गरेछन् । उनी बारीमा पसेर मकै भाँच्न थाल्छन् ।

अनुवादक एवं प्रस्तोता

महात्माले खोष्टा फ्याँक्न शुरु गर्छन् । विस्तारै उनले मकैको घोगो थोते भएको चाल पाए । यो देखेर उनले भने– ” कस्तो काम नलाग्ने मकै रहेछ । खानका लागि दाना पनि पूरा छैनन् । मकैको घोगोमा त पूरा दाना भरिएको हुनुपर्ने ! घोर आश्चर्य !”

तत्‌पश्चात् त्यो घोगो भन्छ- “हे महात्मा ! त्यसो नभन्नुहोस्, मलाई पनि धेरै दाना भएको मकैको घोगो बन्न त मन छ । जसमा म आश्रित छु त्यसले आफ्नो कर्तव्य पूरा गर्न सकेन । मैंले के गरूँ ?”
साधुले जवाफ दिए- तिमीले यो के भन्दै छौ । अरूलाई दोष दिनु उचित होइन ।

“यो मकैको बोटले हृष्टपुष्ट भएर धेरै दाना भएको घोगो फलाउन नसकेपछि मेरो के लाग्छ र भन्नुहोस् त ।” भन्दै घोगो निकै जङ्गिँदै जवाफ दियो ।

“अँ ! हो पनि । यो मकैको बोटले राम्रा दाना भएका घोगा किन नफलाएको हो कुन्नि ?”

त्यसपछि मकैको बोट निकै विनम्र हुँदै भन्छ- “हे महात्मा ! मलाई पनि पूरै दानाले भरिएको घोगो फलाउने इच्छा हुन्छ नि । म उम्रिएको यो धर्तीमा ‌कुनै सार नै छैन । अनि कहाँबाट पूरा हुन्छ मेरो त्यो चाहना ।” आफ्नो समस्या सुनाउँदै मकैको बोट चुप लाग्यो ।

“पक्कै पनि तिम्रो कुरा मनासिब छ  तर यो धर्तीको सार तत्त्व कहाँ हराएको कुन्नि ?”

त्यसपछि धर्ती भन्छ–  “महाराज! समयमा वर्षा नभएपछि कहाँबाट ममा अन्न फलाउने शक्ति हुन्छ ।”

“यो पनि सही हो । वर्षा चाहिँ किन समयमा नभएको हो ? ”

वर्षाले जवाफ दिन्छ- “हे महात्मा ! मलाई पनि समयमै वर्षन मन छ नि । समयमा वर्षन नसक्दाको पीडा मलाई कम्ता छैन । म पनि उकुसमुकुस हुन्छु । के गर्नु ? यहाँका जनता असल चरित्रका नभएपछि म कसरी समयमा आउन सक्छु भन्नुहोस् त ।”

“यो पनि सही हो । यहाँका जनता पनि किन चरित्रवान् नभएका हुन कुन्नि ?”

महात्माले त्यहाँका जनतासँग यो कुरा जान्न खोजे । त्यहाँ उपस्थित जनताले जवाफ दिए- “महात्मा ! हाम्रा संरक्षक राजा नै राजधर्मविरुद्ध भएपछि हाम्रो चरित्र कसरी राम्रो हुन सक्छ ?”
उनी राजाप्रति असन्तुष्ट देखिए ।
राजाले आफ्नो धर्म पालन गर्नुपर्ने उपदेश दिँदै उनले सोधे- “राजन्‌ ! तपाई राजधर्मअनुसार नचल्दा अत्याचार भयो ।”

राजा पनि नम्र हुँदै भन्छन् – “महात्मा ! राजालगायत सबै प्रजा र देशवासीका पूजनीय हजूर स्वय‌ं नै अर्काको बारीमा पसेर मकै चोरेपछि अरू मान्छे कसरी चरित्रवान हुन सक्छन् त ?”

राजाको कुराले साधु झल्याँस्स भए । उनले शिर झुकाए । सबैको पूजनीय व्यक्ति बनेर स्वयं चरित्रहीन भएपछि अन्य सबै झन् बिग्रने नै भए भन्ने कुरा उनले स्वीकार गरे ।

त्यसपछि उनी आफू स्वयं चरित्रवान् भएपछि देशैभर चरित्रवान् बढ्दै आए । यसरी केही समयमा देश सुन्दर शान्त र स्वच्छ भयो ।

अनुवादक : ओमबहादुर बगाले थापा (म्यान्मा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here