झुत्रो लँगौटी

0
145

लुतो लागेको राजनीतिमा दादजस्तै गाढे घाउ पल्टिएपछि त्यसको उपचार खोज्दा खोज्दै उछिट्टिएर हामी संसारको अर्को ध्रुवमा आइपुग्यौँ ।
त्यसपछिका वर्षहरूमा आर्थिक उपार्जनको हिसाबले धरहराको टुप्पो छोए पनि वैचारिक आधारमा हामी अझै पनि बाँझो चौरमा उम्रिएको नाभो मानेजस्तै कोक्याइरहेका छौँ । यो कोक्याउने प्रवृत्ति हामीले त्याग्नै सकेनौँ ।
तीन सय वर्षभन्दा अघिदेखिको खडेरी र अनिकालमा बगरको वास भएका कारण चेतना भुटिएकै थियो । त्यसमाथि कब्जियत परेको नेपाली बौद्धिकता र पखाला चलेको साहित्यले समाजलाई हैँजा-संक्रमित पनि बनाइदियो । उता भलबाढीमा हेलिएको संगीत/कला थपिँदे गयो ।
‘पहाड’को मूल घरबाट लखेटिएपछि औलो लागेर शुरु भएको भ्रमित धर्मको कामज्वरो दशकौँपछिसम्म निको भएकै थिएन; त्यसमाथि अहिले त धनको अधाहा जोडिएर सामाजिक जीवनको मगज नै खलबल बनाइदियो । चेतनाशून्यता भनौँ कि अधिकतम चेतनाको तेज भनौँ, मान्छेले मान्छे भएर बाँच्न छोडे । परिस्थितिले सामाजिक जीवनको घाँटी नै ङ्‌याँक्न थाल्यो ।
यता क्षयरोगले ग्रस्त जातीयता पनि भट्याक-भट्याक गरिरहेकै छ । कुपोषणले ग्रस्त सामाजिक आदर्श झुत्रो लगौँटी जाँघमा टाँसेर मझेरीमा निहुरमुण्टो निहुरिएको छ । यो दुर्गतिले घोक्य्राएका कति मानिसहरू धमाधम आफ्नै ज्यान फाल्न उद्यत छन् ।
कुनचाहिँ रोगको उपचार पहिले गर्नुपर्ने हो, सारै ठूलो असामञ्जस्यको स्थिति पैदा भएको छ ! अब समाजका चिकित्सक, शिक्षक, व्यापारी, सिकर्मी, डकर्मी, मजदूर र किसान-गोठालाहरू सबै मिलेर परामर्श गर्नुपर्ने जरुरी देखिएको छ ।घोत्लिएर सोचौँ है ! नत्र, समय धेरै बितेपछि पछुताउनु बाहेक केही बाँकी रहने छैन ।

-[घिमिरे भूटान (ड्रूक युल)मा जन्मिनु भएको हो । हाल उहाँ संयुक्त राज्य अमेरिकामा बस्नुहुन्छ।]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here