मेडिकल सुपरिटेन्डेन्ट प्रकरणले सम्झाएको विगत

1
1441

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहको कार्यकक्षमै पुगेर विद्यार्थी नेता सर्जन परियारले मोसो दलेछन् । यो घटना हुन हुँदैनथ्यो भनौँ वा यो घटना हुने वातावरण सिर्जना हुनु राम्रो होइन । म व्यक्तिगत रूपमा डाक्टर विनोदलाई चिन्दिनँ मात्रै होइन हालसम्म देखेको पनि छैन । तथापि मेडिकल सुपरिटेन्डेन्ट भनौँ अथवा सिंगो जनस्वास्थ्यको जिम्मेवार अभिभावकप्रति पुत्रतुल्य विद्यार्थीबाट यो दुर्व्यवहारले म निकै दुःखी छु, यो घटनाले म कैयौँ कुरा सोच्न बाध्य छु । आखिर हाम्रो युवा पुस्ता किन यस्तो भयो ? हामीले हाम्रा भावी पुस्तालाई संस्कार सिकाएनौँ वा हामीलाई अग्रजले किन यस्तो निर्दयी बनाए।

म आफ्नै विगत तपाईँहरू समक्ष उधिन्न चाहेँ । मेरो क्याम्पस जीवन भनौँ वा शुरुवाती राजनीतिक जीवनको स्मरण सान्दर्भिक देखेँ। दैनिक चार घण्टा हिँडेर स्कूल पुगेर एसएलसी पास गरेको हुँ । दाङ जिल्लाका बासिन्दालाई थाहा छ, मेरो घर हेमन्तपुरबाट तुलसीपुरको महेन्द्र हाईस्कूल पैदल पुग्न कति समय लाग्छ। त्यसैले एसएलसीसम्म राजनीति र यस सम्बद्ध घटनाक्रमबारे जानकारी नै थिएन । एसएलसी पास गरेर काठमाडौँ पढ्न गएँ । मेरा लागि काठमाडौँ बिरानो थियो । त्यस्तोमा मेरा अभिभावक हुनुभयो हामीभन्दा सिनियर दाइ पर्सेनीका अर्जुन विश्वकर्मा (हाल राष्ट्रिय खेलकुद परिषद्‌का निर्देशक) । हामी एउटै क्याम्पस पढ्ने मात्रै होइन डेरा पनि सँगै अर्थात् एउटै कोठामा बस्ने भयौँ । क्याम्पस पुगेपछि विद्यार्थी संगठनमा लाग्न बाध्यता जस्तै थियो ।

विद्यार्थी नेताका रौँ ठाडा पार्ने भाषण अनि जनवादी गीतहरू मेरा लागि संसार चिन्ने माध्यम बने । आमा दिदीबहिनी हो र फोक्ल्याण्डको टापुबाट जस्ता गीतले अत्यन्तै उत्तेजित बनाउँथे ।

एक दिन मैले पढ्ने ताहाचल क्याम्पस (हाल काठमाडौँ क्याम्पस) का स्ववियू सभापति राजेन्द्र भुजु भेट हुनुभयो । अर्जुन दाइले परिचय गराउनुभयो । मेरो भाइ शिव थापा आइकम फस्ट यिअर । भुजुले हात मिलाउनु मात्रै भएन वहाँको मप्रतिको व्यवहारले म त्यसै दिनदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (एकताको पाँचौँ) को कार्यकर्ता भइसकेको थाहै पाइएन। म सभापतिको पछुवा नै भएँ । गाउँबाट गएको सोझो केटो काठमाडौँमा स्ववियू सभापतिले देख्नेबित्तिकै चिन्ने, हात मिलाउने अनि सन्चो बिसन्चो र पढाइ अप्ठ्यारो सप्ठ्यारो सोधपुछ गर्ने भएपछि के चाहियो । म वहाँको आदेशपालक नै भएँ । क्याम्पसमा हुने अखिलका कार्यक्रम अनि अन्यत्र सहभागी हुनुपर्ने कार्यक्रममा बाक्लै उपस्थित हुनथालेँ। विद्यार्थी नेताका रौँ ठाडा पार्ने भाषण अनि जनवादी गीतहरू मेरा लागि संसार चिन्ने माध्यम बने । आमा दिदीबहिनी हो र फोक्ल्याण्डको टापुबाट जस्ता गीतले अत्यन्तै उत्तेजित बनाउँथे । यद्यपि यी गीतहरू मैले वास्तविक गायकबाट होइन अरू गायकबाट सुनेको हुँ । जेबी टुहुरेहरूलाई त २०५० सालतिर मात्रै चिनेको हुँ ।

चार छ महिना यस्ता दर्जनभन्दा बढी कार्यक्रममा सहभागी हुने र ताली पड्काउने अनि पञ्चायतविरोधी पर्चा बाँड्ने र पम्प्लेट टाँस्ने काम गरेपछि एक हदको राजनीतिक परीक्षा उत्तीर्ण गरिएछ । एक दिन राजेन्द्र भुजुले कानमा खुसुक्क सुनाउनु भयो- मखनमा कार्यक्रम छ । तपाईं, विनोद ओली र डम्बर नेपाली सहभागी हुनुपर्छ । स्थान बताउनु भयो । बिहानको क्याम्पस सकेर खाना खाईवरी हामी अर्जुन दाइलाई थाहै नदिएर निस्कियौँ । अत्यन्तै गोपनीयता कायम गर्नुपर्ने थियो । तोकिएको स्थानसम्म पुग्न बीच बीचमा हामीलाई चिन्ने अखिलका साथीहरू बसेका थिए । हात मिलाएपछि कानमा सुटुक्क भन्थे फलानो ठाउँमा जानुस् । केही चरण पार गरेपछि निर्धारित कोठामा पसियो । कोठा भन्नु के थियो चिसो गह्नाउने छिडी। बल्बले पनि काम नगरेर अँध्यारो । कोठामा करिब तीसजना मेरै उमेरका विद्यार्थी अनि अगाडिपट्टि हामीलाई पढाउने लेक्चर उमेरका दुईजना अपरिचित अनि मैले चिन्ने दुईजना विद्यार्थी नेता हुनुहुन्थ्यो ।

निर्धारित समयमै कार्यक्रम शुरु भयो । पहिला पहिला हुने कार्यक्रम खुला हुन्थे र वक्ताको परिचय दिइन्थ्यो । त्यस दिन छड्के झोला बोकेका मास्टर जस्ताको परिचय दिइएन । अहिले पनि सम्झना छैन ती दुईजना को होलान् ? प्रदीप नेपाल, ईश्वर पोख्रेल, माधव पौडेलमध्ये कोही हुनुपर्छ । त्यो प्रशिक्षण रहेछ । बोल्ने क्रममा दुईजना वक्ताले धेरै कुरा सिकाउनुभयो। पञ्चायत व्यवस्था, राजा, तत्कालीन प्रम लोकेन्द्रबहादुर चन्द, भूमिगत गिरोह, प्रहरी र सेनाका बारेमा सिकाउनुभयो । छिन्ताङ, पिस्कर, झापाविद्रोह मैले त्यसै दिन सुनेको हुँ । विद्यार्थी राजनीति र विद्यार्थीको भूमिकाबारे पनि थुप्रै जानकारी पायौँ । प्रहरी प्रशासनसँग कसरी लड्ने, बच्ने, गोपनीयता कसरी कायम गर्ने भन्ने विषयमा जानकारी पाइयो ।

करिब तीन घण्टामा हाम्रो रगत उमाल्ने कार्यक्रम सकियो । खसोखास पक्का विद्रोही बनियो । कसैसँग नझुक्ने र अन्याय अत्याचारविरुद्ध जस्तोसुकै बलिदान दिन पनि पछि नपर्ने कसम खायौँ ।

त्यसैवेला भनिएको शब्द म सम्झिन्छु । न्याय र समानताका लागि र निरंकुशताबाट मुक्तिका लागि आवश्यक परे हातहतियार र बन्दूक चलाउनु पर्छ । दुश्मनको टाउको छिनाल्न पनि पछि पर्नुहुन्न । न्याय र समानताका लागि जेलनेल मात्रै होइन हाँसी हाँसी शहीद बन्न पनि तयार हुनुपर्छ । देश र जनताका लागि परिवार त्याग्न तयार हुनुपर्छ । झोलामा हतियार बोकेर हिँड्नुपर्छ । कसरी छिन्ताङ र पिस्करमा निहत्था जनता प्रहरीको ज्यादतीविरुद्ध बन्दूक र गोलीको पर्वाह नगरी लडे भनेर वर्णन गरियो । करिब तीन घण्टामा हाम्रो रगत उमाल्ने कार्यक्रम सकियो । खसोखास पक्का विद्रोही बनियो । कसैसँग नझुक्ने र अन्याय अत्याचारविरुद्ध जस्तोसुकै बलिदान दिन पनि पछि नपर्ने कसम खायौँ ।

हामीले व्यवस्था परिवर्तन गर्न युवाहरूलाई अराजक बन्न सिकायौँ । त्यसका लागि हौस्यायौँ । तर आफू र आफ्नो व्यवहार परिवर्तन गर्न सकेनौँ । पञ्चायतका सञ्चालकको जस्तो छवि हाम्रो आँखामा आउने गरी बताइएको थियो । ठिक त्यस्तै छवि गिरिजाप्रसाद कोइराला, केपी ओली, माधव नेपाल, प्रचण्ड र बाबुराम भट्टराईहरूको देखियो ।

यो २०४२ साल फागुनतिरको घटना थियो । मैले यो प्रसंग जोड्नुको अर्थ निश्चित राजनीतिक व्यवस्था परिवर्तन गर्न वा व्यक्ति परिवर्तन गर्न युवाहरूलाई कसरी उत्तेजित पारिन्थ्यो । मेरै दाङको डुरुवा र हापुर नचिनेको र स्वजन मरेको पीडा नभोगेको मलाई छिन्ताङ पिस्कर कण्ठ भयो। इले थामी, रत्नकुमार बान्तवाहरू मारिएको पीडा भयो । यस्ता कार्यक्रम र प्रशिक्षणहरू विद्रोहका लागि पर्याप्त थिए । अहिले पनि कुनै विरोध कार्यक्रममा सहभागी हुँदा रत्नपार्कको रेलिङ भाँचेको, डनको शैलीमा लात्ती हानेर क्याम्पस चिफको ढोका फोडेर भित्र पसेको र फलानोलाई मोसो दलेर आफ्नै जुत्ता माला लगाइदिएर आफू खाली खुट्टा डेरामा आएको सम्झना हुन्छ ।

अहिले सत्ता सञ्चालक ८० प्रतिशत मन्त्री र नेताहरू सम्पन्न परिवारबाट आएका हुन् । आफू सम्पन्न हुँदाहुँदै अर्को सम्पन्नले सत्ता सञ्चालन गरेको देख्न नसकेर विद्रोहमा लागेका हुन् । यिनले युवाहरूलाई गलत सूचना दिएर विद्रोही बनाए ।

हामीले गर्ने यस्ता क्रियाकलाप त्यस्तै रगत उमाल्ने प्रशिक्षणका उपज थिए । दर्जनौँ विद्यार्थी संगठन थिए । सबैलाई आ-आफ्नो संगठनले यस्तै प्रशिक्षण दिन्थे होला । हामी पञ्चायतविरोधी एकापसमा लड्न पछि पर्दैनथ्यौँ । अघि मैले भनिसकेँ- हामीले व्यवस्था परिवर्तन गर्न युवाहरूलाई अराजक बन्न सिकायौँ । त्यसका लागि हौस्यायौँ । तर आफू र आफ्नो व्यवहार परिवर्तन गर्न सकेनौँ । पञ्चायतका सञ्चालकको जस्तो छवि हाम्रो आँखामा आउने गरी बताइएको थियो । ठिक त्यस्तै छवि गिरिजाप्रसाद कोइराला, केपी ओली, माधव नेपाल, प्रचण्ड र बाबुराम भट्टराईहरूको देखियो । मन्त्रीहरू, कर्मचारीहरू, प्रहरी, सेना, डाक्टर लगायत आफूलाई ठूला भनाउँदाको व्यवहार पञ्चायतकालीन मात्रै होइन राणाकालीन जस्तै छ । कत्ति परिवर्तन भएको छैन । यहाँ व्यवस्था परिवर्तन, संविधान परिवर्तन र कानून परिवर्तन भएका छन् तर वर्ग र व्यवहार कुनै परिवर्तन भएका छैनन् । एक थरी सामन्त गए अर्काथरी सामन्त आए । जनअपेक्षा पूरा गर्ने होइन आफ्नै र परिवारको भलो मात्रै सोच्ने शासक आए ।

मैले अलिकति फरक व्यवहार पाएका नेता कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी मात्रै हुन । ठूला पार्टीका नेता र प्रधानमन्त्रीमध्ये कमजोर र आधारभूत वर्गबाट आएका केपी र प्रचण्ड मात्रै हुन् । मेरो पार्टी माले हुँदै एमालेसम्मका प्रमुखहरू सीपी मैनाली, झलनाथ खनाल, माधव नेपाल सामन्त परिवारकै हुन् । मसालका नेता मोहनविक्रम सिंह, कांग्रेस नेता देउवा, माओवादी नेता विप्लव, मधेसी नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, नयाँ पार्टीका नेता रवीन्द्र मिश्र मात्रै होइन अहिले सत्ता सञ्चालक ८० प्रतिशत मन्त्री र नेताहरू सम्पन्न परिवारबाट आएका हुन् । आफू सम्पन्न हुँदाहुँदै अर्को सम्पन्नले सत्ता सञ्चालन गरेको देख्न नसकेर विद्रोहमा लागेका हुन् । यिनले युवाहरूलाई गलत सूचना दिएर विद्रोही बनाए । झापामा धर्मप्रसाद ढकालको टाउको गिँड्नेदेखि मुक्ति अधिकारी मास्टरलाई छ्याकछ्याक पार्ने युवाहरू त्यसवेला कुनै ठूला नेता थिएनन् । उनीहरू त तराईमा टाँगा चलाउने घोडा जस्तो एकोहोरो बनाइएका विद्यार्थी युवाहरू मात्रै थिए । नेताहरूको एकोहोरो विद्रोह र विरोधको रटान लगाएका युवा मात्रै थिए। मलाई लाग्दैन, जनयुद्धकालमा प्रचण्डले कतै गोली चलाए होलान् वा कतै लुटपाट गरे होलान् । न त वीपीले जहाज अपहरण गरे होलान् । बरु हामीलाई मखन गल्लीमा उक्साउने नेताले जस्तै कतै अँध्यारो गल्लीमा बसेर युवाहरूलाई उक्साएर विद्रोह गर्न प्रेरित गरे होलान् । यिनले महान कार्य गर्न चुकेकै हुन् । व्यवस्था परिवर्तन गर्नुपर्ने एउटा कारण दिएर विद्रोह गर्न सिकाए, पछि आफूले त्यो व्यवहार परिवर्तन गर्नुपर्दैन ?

अस्पतालबाट पीडाले रुँदै गरेको विरामीलाई काँधमा बोकेर क्लिनिकमा उपचार गराएको छु । म आफूलाई शालीन मात्रै होइन अलिकति जान्नेबुझ्ने मात्रै होइन चाहेजति ठाउँमा कुरा पुर्‍याउन सक्ने मान्छु । तर म त्यो अस्पताल दर्जनौँपटक रोएर निस्केको छु । कति पटक रिसले काँपेर जुरुक्क उठेको छु ।

चन्द्र शम्शेरहरूलाई कमाराले बोकेर भित्र बाहिर गराए जस्तै व्यवहार अहिलेका नेताले गर्ने । राणा र पञ्चले जहानियाँ शासन चलाएका थिए। हामी जस्ता जनतालाई अवसर दिएनन् भनेर विद्रोह गर्न सिकाउने तर आफूले परिवार र भाइभतिजा मात्रै हेर्ने । अनि जन्मँदैनन् सर्जन परियारहरू ।
अब राप्ती प्रादेशिक अस्पताल र त्यहाँको सेवाबारे कुरा गरौं । सामान्य स्वास्थ्य चौकी, अहेव र औषधिको गुण र नाम जान्नेले राम्रो स्वास्थ्यसेवा दिएको ठाउँ हो, तुलसीपुर । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि ठूलो शिक्षण अस्पताल बनाउने भनेर झूटो शिलान्यास गरेर जनताको मनोभावनासँग खेलवाड गरिएको ठाउँ हो । तर अब शासकको भर पर्दैनौँ, आफै अस्पताल बनाउँछौँ भनेर यहाँका अगुवाहरूले दान उठाउन लाग्दा प्रत्येक जनताले मुठ्ठीदान गरेको ठाउँ हो । गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशामा यो अस्पताल बनाउन हजारौँ सर्जन परियारका अभिभावकले गाँस कटाएका छन् । यद्यपि जनताले उठाएको पैसा अस्पताल चलाउन पर्याप्त थिएन तर हाम्रो भेकका सबैको मनमा छ- यो अस्पताल हाम्रो निजी पैसा खर्च गरेर बनाएको हो । सम्पूर्ण स्वास्थ्यसेवा यसै अस्पतालबाट पाउनुपर्छ । ठूलो त्याग गरेर बनाएको अस्पतालबाट जनताले त्यो चाहना राख्नु स्वभाविक मात्रै होइन उचित पनि हो । तर अस्पताल कस्तो छ ? चिकित्सकको व्यवहार कस्तो छ । त्यो हुकुम बस्नेत, टीकाराम खड्का, घनश्याम पाण्डे, तुलसी पुन वा कीर्ति खड्कालाई थाहा छैन । वहाँहरू शक्ति देखाएर वा गुलामी गरेर भए पनि गुणस्तरीय सेवा लिन सक्नुहुन्छ ।

मलाई सोध्नुहोस् । बुहारी सुत्केरी बनाउन गएका वेला नर्सहरूले बोलेको यहाँ उल्लेख गर्न नसकिने शब्द, अरू वेला डाक्टरहरूद्वारा विरामीहरूप्रति गरिएको दुर्व्यवहारको साक्षी छु । कतिपय भिडियो र अडियो बनाएर राखेको छु । अस्पतालबाट पीडाले रुँदै गरेको विरामीलाई काँधमा बोकेर क्लिनिकमा उपचार गराएको छु । म आफूलाई शालीन मात्रै होइन अलिकति जान्नेबुझ्ने मात्रै होइन चाहेजति ठाउँमा कुरा पुर्‍याउन सक्ने मान्छु । तर म त्यो अस्पताल दर्जनौँपटक रोएर निस्केको छु । कति पटक रिसले काँपेर जुरुक्क उठेको छु ।

तुलसीपुरबाट नेपालगञ्ज रिफर गरेको विरामीलाई नेपालगञ्ज पुगेर पट्टी बाँधेर मात्रै फर्किको पनि छु । यहाँ सुत्केरी बनाइयो भने बचाउन गाह्रो हुन्छ भन्ने सुत्केरी अमिलिया नपुग्दै बाटोमा आफैँ बच्चा जन्माएर फर्काएको एकाध अनुभव पनि छ । नेपालगञ्ज रिफर भएको खुट्टा भाँचिएका गरिबलाई जसपुरका वैद्यले ठमठम हिँड्ने बनाएका दर्जनौँ उदाहरण नाम सहित दिन सक्छु । त्यो अनुभव सर्जनहरूले सुनेका वा गरेका होलान् । अरूले नजानेको विद्या मैले मात्रै जानेको छु भनेर आफूलाई भगवान् ठान्ने र अरूले भगवान् सरह पुज्नुपर्छ भन्ने मानसिकता पालेर बस्ने त्यो पनि गणतन्त्रमा । चिकित्सा पेशा सेवा र समर्पणको पेशा हो । त्यसैले चिकित्सकमा भगवान्‌को रूप खोजिन्छ । अनि जब चिकित्सकको व्यवहार तदनुरूप पाउन सकिन्न अनि अनि जन्मिन्छन् सर्जन परियारहरू । सर्जन परियारहरूलाई आफ्नो स्वार्थ पूरा गर्न विद्रोह गर्न सिकाइयो । व्यवस्थाका विकृति हटाउनका लागि शान्तिपूर्ण विद्रोह मात्रै होइन आवश्यक परे हतियार चलाउन उक्साइयो । कालोमोसो मात्रै होइन टाउको छ्याकछ्याक पार्न उक्साइयो । त्यस्तै गरेर व्यवस्था परिवर्तन गरेर आफ्नो हातमा शासन आएपछि जनतालाई सुविधा दिनुपर्दैन । हाम्रो काम हतारमा विज्ञप्ति मात्रै निकाल्ने हो । त्यहाँ भएका अराजकता र खेलवाडप्रति हामी बोल्नुपर्दैन। अझै पनि हामीले सुधार गर्न सकेनौँ भने यस्ता घटना कम हुने छैनन्।

सर्जन परियार को हुन् ?
बिजौरीका चर्चित माने दमाईका नाति हुन् । इमानदार, आज्ञाकारी, मिलनसार, उच्च शिक्षित र राजनीतिक संस्कार भएका हुन् । आफू सरहका साथीहरूले दलाली र बदमासी गरेर करोडौँ कमाएको टुलुटुलु बसेर हेरेका सर्जनकी आमा सिलाइ पेशा गर्नुहुन्छ भने स्वाभिमानी सर्जनले सानो ढेब्ली (घुम्ती) थापेर सामाजिक काम गर्दै आएका छन् । सितिमिति नरिसाउने उनले हिजो जुन व्यवहार गरे त्यो उनको व्यक्तित्व र स्वभाव सुहाउँदो थिएन । मलाई लाग्छ, त्यो लामो समयको पीडापछि योजनाबद्ध हिसाबले गरिएको काम हो । तर जतिसुकै पीडा भए पनि सर्जनहरू जस्ता युवाले अब त्यस्तो व्यवहार गर्नु हुँदैन । कनिष्ठ पुस्तालाई असल बनाउन सर्जन जस्ता राजनीतिकर्मीले संयम अपनाउनु पर्छ । प्रहरीसमक्ष जानुहोस् । आफ्नो कुरा राख्नुहोस् । आवश्यक परे सजाय पनि भोग्नुहोस् । समस्याबाट नभाग्नुहोस् । कानून पालना गर्नु नागरिकको कर्तव्य हो । कानून पालना गर्दैमा सानो भइन्न । विगतमा सर्जन जस्ता युवालाई विद्रोही बनाउने नेताले आफू सत्तासीन हुँदा विगतका जस्तै अन्याय र अत्याचार दोहोरिँदा चुप लागेर नबस्नुहोस्। विगतमा रामराज्यका सपना देखाउने नेतृत्वले आज जनकल्याणका काम गर्नु पर्दैन?

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here