मेरो दुबई यात्रा

0
662

-सूर्य चापागाईं

एक हप्ताका लागि घुमघाम गर्न संयुक्त अरब इमिरेट्स (यूएई) जाने अवसर मिल्यो। हामी २८ मार्च आइतवार राति ११ः३० बजे नेपाल वायुसेवा निगम (आरए २२९) को उडानमा दुबईका लागि प्रस्थान गर्‍यौँ। यो मेरो दोस्रो अन्तरराष्ट्रिय उडान थियो। १६२ जना यात्रुसहित हाम्रो विमान ३७,००० फिटमाथि उड्यो। रातको यात्रा हुनाले आकाशमार्गबाट भूदृश्य राम्ररी नियाल्न पाइएन। तैपनि भारत–पाकिस्तानका सीमामा लगाइएको झिलिमिली बत्तीको बार पहिचान गर्न गाह्रो भएन।

लेखक

साथमा थिए, मेरा अनन्य मित्र- रमेश सुवेदी। हामी पालैपालो झ्यालबाट भूतलको दृश्य हेर्थ्यौँ। २,३७४ माइलको दूरी पार गरेर २९ मार्चको बिहान २:३० बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा उत्रियौँ। उत्रनेबित्तिकै त्यहाँका स्वास्थ्यकर्मीहरूले हाम्रा नाकमा कोभिडे सिन्को घुसारिहाले।
उता दुबईका स्वास्थ्यकर्मी नाकमा सिन्को घुसारेर जाँच्दै थिए। मित्र रमेश भुटभुटिन थाले। उनी भन्न थाले- “मेरो पर्स प्लेनमै छुट्यो।” अभागीलाई के भनेजस्तै उखान सम्झिन पुगेँ।

यात्राका सहजकर्ता रामहरि पौडेलले पर्स खोज्ने कार्यमा केही सहयोग गरे भने चन्द्रमणिले आफ्नो उही व्यवहार देखाइहाले। कोभिडे नतिजा आएपछि दुबई विमानस्थल जानु हाम्रो पहिलो प्राथमिकतामा पर्‍यो। हामीले यूएईका कन्ट्री म्यानेजर टीकाराम पंगेनीलाई इमेल गर्‍यौँ। उनले भेटिएको पर्स ‘लस्ट एन्ड फाउन्ड’ सेक्सनमा गएर लिनु भन्ने जवाफ पठाए। हामी काठमाडौँबाट कोभिडको नेगेटिभ नतिजा लिएरै आएका थियौँ। अब यहाँको नतिजा आउन २४ घण्टा पर्खिनै पर्ने भयो। त्यसपछि हामीले डिरा भन्ने ठाउँको ‘ग्रान्ड सेन्ट्रल’ होटेलमा ५०११ नम्बर कोठामा २९ तारिखको अहोरात्र क्वारेन्टिन जमायौँ। कोभिडको नतिजा आइनसकेकोले निर्बाध हिँडडुल गर्न सहज थिएन। गुप्तचरहरू सादा पोशाकमा प्रशस्त हुने भएकाले सुरक्षित रहनु पनि जरुरी थियो।

हामीसँग २/२ हजार अमेरिकी डलर र केही नेपाली रुपैयाँ थियो। होटेलबाहिर निस्केपछि झुरुप्प नेपालीहरू भएका ठाउँमा आफ्ना कुरा राख्यौँ। त्यहाँ एक अपरिचित नेपालीले ५०० एईडी (अरब इमिरेट्स दिराम) हातमा दिँदै भने- “शुरुमा आउँदा मलाई पनि तपाईँहरूलाई जस्तै समस्या भएको थियो।” होटेलबाहिर भेटिएका प्रभात नामका ती व्यक्ति मनकारी रहेछन्। हामी फुरुङ्ग हुँदै त्यो पैसाले पानीलगायत अत्यावश्यक केही सामान खरीद गर्‍यौँ र हामीसँग भएको नेपाली मुद्राले केही एईडी सटही गर्‍यौँ। अब हामीलाई त्यहाँ वरिपरिको वस्तुस्थिति थाहा पाउन पनि धेरै समय लागेन। भोलिपल्ट कोभिड नतिजा नेगेटिभ आएपछि हामी स्वतन्त्र घुमफिर गर्न पाउने भयौँ।

दुबई विमानस्थल जानु बिहानको प्राथमिकतामा परेकाले हामी ट्याक्सी लिएर एयरपोर्ट गयौँ। रमेशजी भित्र छिरे। मचाहिँ रमेशजीले पर्स लिएर आउँछन् भनेर उत्साहित भएर पर्खिएको थिएँ। धेरै बेरपछि फर्किएका रमेश भन्छन्- “पर्स त पाइयो तर पैसा पाइएन।”

दोहोरो ट्याक्सी कुदाएको ५५ एईडी त चट् भयो, पर्समा भएको ९ हजार नेपाली रुपैयाँ पनि चोरिँदा भने साह्रै टिठ लागेर आयो। त्यो पैसा कसले झिक्यो होला त ? एयर होस्टेसले झिके या त एयरपोर्ट क्रूले झिके भन्ने कुरा सोचनीय नै रह्यो।

होटेलमा बिहानको खाजा, चियाकफी र १.५ लिटर पानी दिइने व्यवस्था थियो। १.५ लिटर पानीले २ जनालाई घाँटी भिजाउन पनि पुगेन। आधा लिटरको ७ दिराम तिरेर होटेलमा किन्न नसकिने बुझेर बाहिरबाटै ६ दिराम तिरेर ९ लिटर पानी ल्यायौँ। हाम्रा लागि त्यो नै किफायती थियो।

यात्राको तेस्रो दिन ३० मार्चमा डिराबाट ४० किमीमा पर्ने पाम जुमेराको होटल एटलान्टिसमा हुने EVORICH को दोस्रो वार्षिकोत्सवसहित २ दिने तालिममा सरिक भयौँ। आश्चर्यमय अक्वा-भेन्चर पार्क भएको पाम जुमेरा डल्फिनका लागि मानवनिर्मित चर्चित टापु रहेछ। सन् २०१० मा बनाइएको यो टापु वार्षिक ५ मिलिमीटर डुबिरहेको वैज्ञानिकहरूको दावी छ। होटल एटलान्टिस पाम जुमेरा टापुमै निर्मित विश्वप्रसिद्ध पाँचतारे होटेल हो। यसका वरिपरि खजुरलगायतका विभिन्न रूखहरू लगाइएको छ। रेगिस्तानमा ती रूखको हरियाली मनमोहक छ। लबीका बीचमा सिसाका अनुपम सजावट हेर्न पाइन्छ। घरी घरी मन नेपालतिरै फर्किइहाल्ने। बालुवाको थुप्रोमा यति व्यवस्थित हरियाली वातावरण सम्भव छ। हरियाली भएको यति सुन्दर देश नेपालमा हामीले किन व्यवस्थापन गर्न सकेनौँ? कमजोरी कसको त, नेपाली जनताको सरकारको वा नीति निर्माताको वा स्थानीय सरकारको? खोइ कसको कमजोरी कसको रह्यो, छुट्याउनै सकिनँ।

दुबईका ८ टापुमध्ये ४ वटा त कृत्रिम हुन्। पाम जुमेरा निर्माण भइसक्यो भने अरू ३ वटा निर्माणाधीन छन्। कृत्रिम अर्थात् हामी जस्तै मान्छेले बनाएका टापु। अझ ती टापु बनाउन नेपालीको मेहनत परेको छ। म ठोकेरै भन्न सक्छु- ती टापु सजाउने काममा त पक्कै नेपालीको पसिना बग्नेछ।

कार्यक्रमका प्रमुख वक्ता आन्द्रेई खब्रातोब, आरमन्द मुर्निक्स आदि थिए भने छिमेकी राष्ट्र भारतका हरविन्दर ह्यारी, प्रवीण, लात्भियाकी ओल्गा, बेलारूसका ज्यानिस सम्झन योग्य मानिसहरू हुन्। मध्यरातसम्मको कार्यक्रम सकेर होटल पुग्दा ३१ तारिखको बिहान २ बज्यो।

३१ मार्च बुधवार चौथो दिन पाम जुमेराको शाही दरवार वरिपरि घुमेर ‘बुर्ज अल अरब’ नजिकैको नुनिलो समुद्रमा पौडीको मजा लिइयो। नुनिलो पानीको छालले हुत्याएर तटमा फ्याँकिदिन्थ्यो अनि छाल फर्केर जान्थ्यो। ‘जुमेरा रोड’, ‘बुर्ज अल अरब’, ‘मदिनत जुमेरा’ आदि मिलाएर जुमेरा तट दुबईको आकर्षणको मुख्य केन्द्र बनेको पाइन्छ। नुनिलो पानीमा नुहाएर कोठामा फर्किँदा कट्टुमा १ मुठीजति बालुवा बाँकी नै थियो। शरीरमा नुनिलोपन बाँकी नै थियो।

सावर गरेर फेरि जानु थियो— क्रूज यात्रामा ‘अल मरिना’। अल मरिनाको ‘लोटस क्रूज’मा हामी दिउँसो ३:३० बजे चढ्यौँ र त्यो यात्रा सवा ३ घण्टासम्म चलिरह्यो। अल मरिना पुगेपछि विभिन्न परिकारको स्वाद लिँदै हामीले चारै दिशातिर घुमेर फोटो खिच्यौँ। सबै आ-आफ्ना ताल र सुरमा मस्त देखिन्थे।

मेरा नजिकमा थिए-रूसी युवक निकोलाई। उनीसँग रूसी साहित्यको कुरा गर्न थालेँ। पुस्किनदेखि एन्तोन चेखवका प्रसङ्ग निकालेँ। लिई तल्सोई त छोड्ने कुरै भएन। उनको ‘युद्ध र शान्ति’ उपन्यासको चर्चा गर्दा उनी त दंग परे। परदेशमा आफ्नो देशका साहित्यकारको चर्चा हुँदा खुशी हुनु स्वभाविकै थियो। कल्पना गरेँ- त्यहाँ कसैले भानुभक्त वा पारिजात वा लैनसिङको नाम मात्रै लिएको भए पनि म कति पुलकित हुन्थेँ होला।

म पनि समुद्रमाथिबाट ‘बुर्ज अल अरब’को नजिकै पुगेर हामीले नेपालको राष्ट्रिय गान गायौँ। मनमोहक सूर्यास्त हेर्दै ड्रोनबाट सामूहिक फोटो खिचायौँ। शायद सयौँ तस्वीर लियौँ होला। जति फोटो खिचे पनि मन भने अघाएको थिएन। तैपनि साँझको ६:४५ बजे त्यहाँबाट फर्कियौँ।

सानैमा गढीगाउँ स्कुल पढ्न जाँदा बाटामा ६ पिराको रोटेपिङ मात्र देखेको म त ४८ क्याप्सुलको रोटेपिङ देख्दा तीनछक परेँ। त्यसले त एकैपटकमा १,४०० मानिसलाई घुमाउँदो रहेछ। क्रूजबाट निस्किँदा जहाज हल्लिएको धङधङी मेटिएको थिएन। फेरि दुबई मल र बुर्ज खलिफाको दर्शन गर्नतिर लागिहाल्यौँ।

किनमेल गर्न सोखिनहरूका लागि एक स्वर्गीय ठाउँ हो- दुबई मल। यहाँबाट बुर्ज खलिफाको मनोरम दृश्य देखिन्छ। स्केइटिङ गर्ने र अक्वारियमको अवलोकन गर्नेको पनि घुइँचो लाग्छ। दुबईको सिटी मल पूरै घुम्न त दुई दिन नै लाग्छ भन्थे। ‘डान्सिङ फाउन्टेन विथ म्यूजिक’ले कसको मन लोभ्याउँदैन र ! बुर्ज खलिफा र दुबई मल जाने जोसुकैले यो परिदृश्य छुटाउनै सक्दैनन्। ती परिदृश्य छुटाए त दुबई जानुको रमाइलो पूरा हुनै सक्दैन।

साँझमा शुरु भएको पानीको फोहरा हेर्न प्रत्येक घण्टा ५ मिनेटका लागि मान्छेको घुइँचो लाग्छ। फोहरामा रङ्ग थिएन, कोभिड-१९ को प्रकोप शुरु भएपछि फोहरामा रङ्ग हटाइएछ। सेकेण्ड-सेकेण्डमा फोहराको आकार परिवर्तन हुन्थ्यो जुन दर्शकको कल्पनाभन्दा बाहिर थियो। अमेरिकाको लस भेगासकै फाउन्टेन डिजाइनरले नै यो डिजाइन गरेका हुन् भनिन्छ। पछाडिपट्टि झलझलाकार बुर्ज खलिफा जीवन्त उभिइरहेको छ। दुबईका नायक खलिफा बिन जाइद अल नाह्यानका नामबाट सन् २००४ देखि २००९ सम्म पाँच वर्ष लगाएर निर्माण गरिएको ८२८ मिटर अग्लो र १६० तले भूकम्प प्रतिरोधात्मक यस टावरबाट शहरको सम्पूर्ण दृश्य हेर्न मजा आउँछ।

पाँचौँ दिन बिहीवार अप्रिल १ तारिखका दिन सिटी सफारीको कार्यक्रम थियो। यात्राका सहयोगी थिए- पाकिस्तानी। डिरा-बुर दुबई हुँदै सम्पूर्ण सहर घुमियो। दुबई निर्माणको सन्दर्भ अलिक कोट्याउँछु।

इस्लामिक शासकलाई अमीर भनिन्छ। त्यसै शब्दबाट अमीरात बन्छ। तिनै अमीरको भूमिलाई अमीरात भनिन्छ। यूनाइटेड अरब अमीरातलाई छोटकरीमा अमीरात वा यूएई भनिन्छ। यो राज्य पश्चिम एशियामा पर्ने अरबी भूक्षेत्रको पूर्व र पारसको खाडीको दक्षिण–पश्चिम भागमा अवस्थित छ। यसका पूर्व (दक्षिण) मा ओमन, उत्तरमा इरान र दक्षिणमा यमन पर्दछन्। अमीरात भनेका शहरहरू हुन्। अबु धाबी, दुबई, शारजाह, अजमान, उम्म अल क्वेन, रास अल खैमा र फुजेरा यी सातवटा अमीरात मिलेर यूएई अर्थात् संयुक्त अरब अमीरात बन्दछ। सातवटै शहरको झण्डा एउटै छ। प्रत्येक अमीरातका आफ्नै विमानस्थल छन्। दुबईमा जम्माजम्मी ७६० मस्जिदहरू छन्। इतिहास भन्छ- सन् १९७१ को डिसेम्बर १ मा सबै शहरहरू संयुक्त भए। तत्पश्चात् सातैजना अमीर (राजा) मिलेर यूएई निर्माण गरे। अमीरहरू पहिले नाविक थिए। उनीहरू मरुभूमिमा बसोवास गर्थे र उनीहरूलाई बनिया भनिन्थ्यो। मुसलमान बाहुल्य रहेको यहाँ पुरुषहरू कुन्दुरा लगाउँछन् भने महिलाहरू अबैया पहिरिन्छन्। सन् १६०० मा पोर्तुगालीहरू उपनिवेश बनाउने सिलसिलामा यहाँ आए। सन् १९६० मा दुबई विमानस्थल बन्यो। सन् १९७० मा वर्ल्ड ट्रेड सेन्टर बन्यो। दुबईको राजधानी अबु धाबी हो। हरिणका शिकारीहरूको अखडा भएकाले यस ठाउँलाई अबु धाबी भनियो। दुबईमा २०० भन्दा बढी मरुभूमि छन्। सबै सरकारी कार्यालयहरू अबु धाबीमै रहन्छन्। दुबई विश्वको पर्यटकीय र व्यापारिक केन्द्र हो। विश्वका १५० भन्दा बढी राष्ट्रका नागरिकहरू यस देशमा बसोवास र कामकाज गर्छन्। पारस खाडीको उत्तर–पूर्वमा पर्ने दुबई मध्यपूर्वको साउदीपछिकै दोस्रो धनी राष्ट्र हो भन्दा फरक पर्दैन। सन् १९९२-२००२ मा दुबई मरिना निर्माण भयो। मरिनाका वरिपरि भव्य गगनचुम्बी भवनहरू छन्। सन् २००८ मा बनेको ४८ क्याप्सुलको भव्य सिंगापुर फ्लायर मरिनाको देब्रेपट्टि किनारामा छ। यसबाट दुबई मरिना, बुर्ज अल अरब, पाम जुमेरा, बुर्ज खलिफा आदिको दृश्यावलोकन गर्न सकिन्छ।

प्रहरी, सेना, सुरक्षाकर्मीहरू बिरलै देखिने यस देशमा आपराधिक क्रियाकलापको दर १२% मात्रै रहेको छ। मान्छे यहाँका शहर र गल्लीहरूमा बेरोकटोक हिँड्न सक्छन्। शहर, भवन, गल्ली सबैतिर अत्याधुनिक क्यामेरा जडान गरिएका छन् भने सडकमा प्रहरीहरूको नाम निशाना छैन। प्रत्येक आगन्तुक या स्थानीय नागरिकले सडकलगायत त्यहाँका सबै नियम कडाइका साथ पालना गर्नुपर्दोरहेछ। सबै प्रविधि विद्युतीय उपकरणबाट नियन्त्रित छन्। गाडीहरूले बाटो काट्नेलाई प्राथमिकता र सम्मान दिएको देख्दा गर्वको अनुभूति हुन्छ। नेपालमा जस्तो जेब्रा क्रसिङ्मै गाडीले हानिहाल्ला भनेर डराउनु पर्दैन। ध्वनि प्रदूषण बिल्कुलै छैन। दुबई बसाइका ७ दिनमा जम्माजम्मी २ पल्ट गाडीका हर्न बजेको सुनियो।

डेजर्ट सफारी
शहरका गगनचुम्बी महलहरूको दृश्य हेर्दा हेर्दा वाक्क लागिसकेको थियो। भनिन्छ नि, सौन्दर्यले मान्छे छिटै प्रभावित हुन्छ। हामी मरुभूमिको मध्यमा अरबी संस्कृतिको साथ समय बिताउन गयौँ। दुबईमा बिदा मनाउने सबैभन्दा आनन्दमध्येको एक डेजर्ट सफारी पनि हो। बालुवाका पहाडमा गुडेका गाडीभित्रबाट देखिने दृश्य मोबाइलको क्यामेरामा कैद गर्न हामीलाई धौ धौ पर्‍यो। हामीसँग १५ वटा ट्याक्सी थिए। जाँदा जाँदै बाटोमा बाजसँग फोटो खिचाउने, पोलेका मकै खानेदेखि मरुभूमिमा ‘क्वाड बाइकिङ’ गरेर मजा लिने ठाउँ पनि पाइए। त्यहाँ करिब एक घण्टाको रमाइलोपछि हामी डेजर्ट सफारीमा लाग्यौँ।

गाडीहरू मरुभूमिका डाँडाहरूमा एकपछि अर्को गर्दै एक तमासले हुइँकिए। गाडीबाट निस्केर घुँडासम्म भासिने बालुवामा खेल्दाखेल्दै १ घण्टा बितेको पत्तै भएन। मरुभूमिबाट हेरेको बुर्ज खलिफापछाडि सूर्यास्त भएको दृश्य सारै मन लोभ्याउने थियो। केही साथीहरू मन थाम्न नसकेर अल्ला हू अकबर भन्दै थिए साथी रमेश र म भने देवाधिदेव महादेव पशुपतिनाथलाई सम्झिँदै थियौँ।

यस दिनको सूर्यास्त मनमा भरपूर सजाएर हामी अरबको सांस्कृतिक नाचतर्फ प्रस्थान गर्‍यौँ। साँझ परिसकेको थियो। हामीले ताराहरूको मुनि मरुभूमिको सजावटमा बार्बक्यू डिनर गर्‍यौँ। सबैतिर भारतीय र पाकिस्तानीहरूको बाहुल्य भएकाले भाषा आदान–प्रदान गर्न कसैलाई कुनै समस्या थिएन। हामीले भारतीय र पाकिस्तानी शेफहरूद्वारा तयार गरिएका उत्कृष्ट भोजनको सेवा लियौँ तर विदेशको खाना जति नै स्वादिष्ट भए पनि स्वदेशकै दाल–भात, तरकारी, मही र अचार मनमा आइरह्यो।

रातको शीतल मरुभूमिको बीचमा ताराहरूको मुनि चिसोको चुस्की लाउँदै गर्दा अरबी संस्कृति झल्किने नाचको भिडियो खिच्ने वेला भइहाल्यो। त्यस्तो एकलास बालुवाबाहेक केही नभएको मरुस्थलमा पनि अत्याधुनिक गाडीहरूमा यात्रा गरेर पुग्दा अनि आधुनिक साजसज्जाका साथ आ-आफ्ना फरासमा बसेर विभिन्न परिकारको मजा लिँदै बेली डान्स सहित थरीथरीका नृत्य अवलोकन गरियो। दर्शकबाट एक तमासको साइसाइ– सुइसुइ आइरहेको वेला छेवैमा साथी रमेश सास दबाएर भिडियो खिच्न मस्त थिए।

छैटौँ दिन शुक्रवार बिहान ६ बजे शारजाह स्काइवे कम्पनीको डमी प्रोजेक्ट हेर्नका लागि ३० मिनेटको गाडी यात्रामा गर्‍यौँ। दुबईको यो पार्क बेलारूसको इको टेक्नो पार्कपछिको दोस्रो पार्क हुनेछ। यूनिभर्सिटी इनोवेशन सेन्टरका छेवैमा बन्दै गरेको यो पार्क केही वर्षमै पूर्ण हुने लक्ष्य राखिएको छ। दिउँसो ३ बजे मिराकल गार्डेन हेर्न गयौँ। त्यहाँ फूल कतिवेला ओइलाउँछन्, कसले कतिवेला पानी राख्छन्। केही थाहा पाइएन। सबैतिर फैलिएका लाखौँ फूल कुनै आश्चर्यभन्दा कम छैनन्। एउटा सिंगै जहाज पनि फूलैफूलले सजाइएको छ। सन् २०१३ को भ्यालेन्टाइनका दिन उद्घाटित विशाल भूभागमा विस्तारित भएको यस बगैचामा पंक्तिबद्ध फूलहरू कतै रक्तनदी, कतै ताजमहल, कतै इन्द्रधनुषका रूपमा प्रस्तुत हुन्छन्।

हिँड्दै जाँदा कतै सिमेन्टका रूखहरूबाट पानीका फोहरा बर्सिरहेका देखिन्छन् त कतै सलल, कलकल पानी बगिरहेको देख्न पाइन्छ। अबको दृश्य कस्तो आउला भनेर अनुमान नै गर्न नसकिने ! मरुभूमिको बालुवामाथि यस्तो उर्वर वागको दीप्ति कुनै महाकविको लालित्यपूर्ण काव्यभन्दा कम लाग्दैन।

साँझमा ‘ग्लोबल भिलेज’मा सबै देशका प्रतिनिधि भवन, संस्कार, संस्कृति झल्काउने वेषभूषा देखिन्थे। मानिसहरू आ-आफ्नो देशका परिकार खान मस्त थिए। नेपालको स्टल भने भेटिएन। साथी रमेशले र मैले दक्षिण भारतीय परिकार डोसा खायौँ।

सातौँ दिन शनिवार अप्रिल ३ का दिन यात्रामा चेली कविता र भाइ विशालले साथ दिए। रमेश, कविता, विशाल र म ‘बुर दुबई’का विभिन्न ठाउँ घुम्यौँ। सुन पसल र कम्प्युटर पसलको समेत जानकारी लिन बाँकी राखिएन। रमेशलाई एउटा ल्यापटप अत्यावश्यक थियो। उनले २,८०० एईडी तिरेर अत्याधुनिक ल्यापटप किने।

नेपाल वायुसेवाको जहाज स्थगित भएर अरू २ दिन बसाइ बढ्यो तर रमेश र जोरपाटीकै अमित भाइसँग मेट्रो चढ्दा समय बितेको पत्तै भएन। मेट्रोमा बस्दा दूरी कायम थियो तर उभिने मानिसको उकुसमुकुस भीड देख्दा उभिनेलाई यहाँ कोरोना लाग्दोरहेनछ भन्ने निष्कर्ष निकालियो।

सारमा दुबई मरुभूमिको बालुवाको थुप्रो र समुद्रमाथि मानवनिर्मित कलाले दुनियाँको चैन लुटेको छँदै छ तर नेपाल जस्तो हिमाल, पहाड, नदी, खोला, जङ्गल, जडिबुटी, प्रकृतिको खानी भएको देश कहिले विश्वको आकर्षणको केन्द्र बन्ला?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here