एनआरएनएलाई कारबाहीको माग गर्दै उजुरी

0
702

काठमाडौँ : आफ्नो संस्थाको लोगो अनधिकृत रूपमा प्रयोग गरेको भन्दै ‘गैर आवासीय नेपाली संघ’ (एनआरएनए)लाई कारबाही गर्नुपर्ने मागसहित काठमाडौँस्थित नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी परेको छ।

‘नन रेसिडेन्ट नेपाली एसोसिएशन, क्यालिफोर्निया अमेरिका’ले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय‚काठमाडौँलाई प्रतिलिपि अधिकार हनन सम्बन्धमा आवश्यक कारबाही गरिदिन माग गरेको हो।

बिहीवार ‘नन रेसिडेन्ट नेपाली एसोसिएशन, क्यालिफोर्निया अमेरिका’का अध्यक्ष माधव मरासिनीले विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ नामक संस्थाले आफ्नो संस्थाको लोगो अनधिकृत रूपमा प्रयोग गरेको भन्दै कारबाही गरिदिन माग गर्नु भएको हो।

अध्यक्ष मरासिनीले अमेरिकी सरकारको सम्बन्धित निकायमा उक्त संस्था र लोगो सन् २०१३ मा अमेरिकामा दर्ता गरेको बताउँदै आउनु भएको छ।

अध्यक्ष मरासिनीले अमेरिकी सरकारको सम्बन्धित निकायमा आफ्नो नाममा ट्रेडमार्क दर्ता (डिसेम्बर २४, २०२१) भई आफू अध्यक्ष रहेको संस्था ‘एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन’ ले प्रयोग गरिरहेको लोगो नेपालस्थित परराष्ट्र मन्त्रालयमा दर्ता भई क्रियाशील ‘गैर आवासीय नेपाली संघ’ नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गरिरहेको पाइएको र पटक–पटक पत्राचार गर्दा पनि यो क्रियाकलाप नरोकिएकाले आफूहरूको प्रतिलिपि अधिकारको गम्भीर हनन भएको दाबी गर्नु भएको छ।

नेपालको संविधानअनुसार दर्ता भएको संस्थाले कुनै अर्को संस्थाको प्रतिलिपि अधिकार हनन गर्नु प्रतिलिपि अधिकार सम्बन्धी कानुनविपरीत कार्य रहेको भन्दै उहाँले यसबारेमा सत्य तथ्य छानबिन गरी अब उपरान्त लोगो प्रयोग नगर्नु भनी पत्राचार गरिदिन नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई आग्रह गर्नु भएको हो।

यस विषयमा नेपालस्थित नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट कारबाही अगाडि नबढे आफूहरू अमेरिकी सरकारको ट्रेडमार्क सम्बन्धी न्यायिक निकायमा उजुरी दिन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।

सम्झौता पत्र

उजुरी पत्र

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here