मही/तक्र (Buttermilk)

0
401

डा. सन्तोष गौतम

  • विषयप्रवेश:

मोही, मही, मुई, छाछ तथा मट्ठा आदि नामबाट नेपाली जनमानसमा परिचित यसलाई आयुर्वेदमा ‘तक्र’ का नाममा निकै महत्त्वका साथ वर्णन गरिएको पाइन्छ । यो पेय परापूर्वकालदेखि नै चलिआएको पौष्टिक र स्वस्थकर पेय पदार्थ हो । भारतमा बेलायती शासन शुरु हुनुभन्दा पहिला दूध, दही तथा मही सामान्य र नियमित पेयका रूपमा प्रख्यात थिए । भारतमा व्यापार गर्ने उद्देश्य लिएर आएको इष्ट इण्डिया कम्पनीले आफ्नो प्रभावसँगै चियालाई महत्त्व दियो । यसरी भारतमा चियाको प्रभाव बढेसँगै नेपालमा पनि चियाले पेयका रूपमा महीलाई विस्थापित गरेको थियो ।

लेखक

मही (तक्र)का बारेमा आयुर्वेदको महत्वपूर्ण ग्रन्थ भावप्रकाश निघण्टुमा भनिएको छ:
यथा सूराणाममृतं सुखाय तथा नराणां भुवि तक्रमाह

जुन प्रकारले स्वर्गमा देवताका लागि अमृत सुखकर हुन्छ, त्यसै प्रकारले पृथ्वीलोकमा मानवका लागि तक्र अमृत समान छ ।

  • महीका प्रकार:

दहीमा मिलाइने पानीको मात्रा तथा मक्खन (नौनी) निकाल्ने तौर तरिकाअनुसार आयुर्वेदमा चार प्रकारमा वर्गीकरण गरिएको छ :-

-पानी नराखी सीधै दहीलाई मथेर तयार गरिएको ।
-एक चौथाइ पानीको प्रयोग गरेर तयार गरिएको ।
-आधा दही र आधा पानी मिलाएर तयार गरिएको तक्रलाई ‘उदाश्चित’ भनिन्छ ।
-दहीमा पानी नराखी मथेर मक्खन निकाली तयार गरिएको घोललाई ‘मथित’ भनिन्छ ।

  • महीका गुण तथा फाइदाहरू:

कैलासे यदि तक्रमस्ति गीरिश: किं नीलकण्ठोभवेद् ।
वैकुण्ठे यदि कृष्णता मनुभवेद्यापि किं केशव: ।।
इन्द्रो दुर्भगता क्षयं द्विजपतिर्लम्बोदरत्वंगण: 
कुष्ठित्वं च कुवेरको दहनतामाश्ग्निश्च किं विन्दति ।।‘  – योग रत्नाकर

तक्र (मही) को अभावलाई योगरत्नाकरमा यसरी महत्त्वका साथ दर्शाइएको छ :-

यदि कैलासमा तक्र हुन्थ्यो भने शिवजीको घाँटी विषको प्रभावले किन नीलो हुन्थ्यो र। वैकुण्ठमा तक्र हुन्थ्यो भने विष्णु किन कृष्ण वर्ण हुनुपर्थ्यो होला । देवराज इन्द्र स्वर्गमा भएर पनि दुर्भग नामक सौन्दर्यहीन रोगको किन सिकार हुनुपर्थ्यो र । चन्द्रमालाई क्षयरोग किन लाग्थ्यो र । गणेश भगवान्‌को पेट किन त्यति ठूलो हुन्थ्यो र । तक्र भएको भए कुवेरजस्ता धनीलाई कुष्ठरोग किन लाग्थ्यो होला तथा अग्निलाई दाहले किन आफैँ जल्नुपर्थ्यो होला भनेर देवलोक र भगवान्‌ले समेत तक्रको अभावमा झेलेका रोग र कष्ट दर्शाइएको छ ।

दहीबाट यो पेय तयार गरिने भएको हुँदा दहीको गुण तथा स्वादअनुसार नै यसको गुण र स्वाद कायम रहन्छ । आयुर्वेदमा उल्लेख भएअनुसार ताजा महीमा लघु गुण तथा मधुर र अम्ल रस प्रधान रहन्छ । शरीरको अग्निबल (पाचन रस) बढाउने तथा शरीरका स्रोतहरू स्वच्छ राख्न यो सहायक हुन्छ । साथै पक्व आहारलाई शरीरमा शोषण गराउन यो महत्त्वपूर्ण मानिन्छ । महीमा बिरेनुन मिलाएर पिउनाले पाचन शक्ति बढाउन अझ प्रभावकारी हुन्छ । दहीबाट पूरै नौनी निकालेर तयार गरिएको मोही सुपाच्य, हलुका, हितकर तथा शरीरको गर्मीपन हटाउन सहयोगी हुन्छ । दहीबाट मक्खन ननिकाली तयार गरिएको मही गरिष्ठ (भारी), बलकारक तथा कफ दोष बढाउने खालको हुन्छ । यो पाचन शक्ति बलियो भएका मानिसले पिउन उपयुक्त हुन्छ । दही र मोही बिहानको खाजापछि वा खानापछि र दिउँसोमा पिउनु उपयुक्त हुन्छ । साँझ वा रातमा यसको प्रयोग नकारात्मक प्रभाव दिने तथा स्मृतिनाशक मानिन्छ ।

☞ मही हाम्रो शरीरको पाचनलाई प्रक्रिया चुस्त राख्न तथा कब्जियत जस्ता समस्या निराकरण गर्न राम्रो मानिन्छ । ग्रहणी (colitis) रोगमा यसको प्रयोग उत्कृष्ट पथ्य तथा अति लाभदायक सिद्ध हुन्छ ।
☞ आयुर्वेदको मान्यताअनुसार अर्श (piles) रोग ठिक गर्न घरेलु आहारका रूपमा यसको प्रयोग उल्लेख गरेको पाइन्छ
☞ महीमा सुठो, पिप्पली र मरीचको समभाग (त्रिकटु) चूर्ण र यवक्षार थोरै मात्रामा मिलाएर पिउनाले कफदोषका कारणले हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
☞ धेरै अमिलो नभएको महीमा सुठोको चूर्ण र सिधेनुनको धुलो हल्का मात्रामा मिलाएर पिउनाले वातदोष प्रकोपका कारणले हुने रोगबाट छुटकारा पाउन सकिन्छ ।
☞ अम्लता रहित मोहीमा मिश्रीको धुलो आवश्यकताअनुसार मिलाएर पिउनाले पित्त विकार तथा छालाजन्य रोगबाट छुटकारा पाउन सकिन्छ ।
☞ महीमा गुड (भेली/सक्खर) मिलाएर पिउँदा मुत्रकृच्छ्र (पिसाब फेर्दा दुख्ने, पोल्ने तथा थोरै- थोरै पिसाब आउने) समस्यामा राम्रो परिणाम पाउन सकिन्छ ।
☞ रक्तअल्पताको समस्यामा थप औषधोपचारका साथै चितु (चित्रक) को चूर्ण महीमा मिलाएर सेवन गर्दा छिटै राम्रो परिणाम दिन्छ ।
☞ महीमा थोरै मात्रामा शुद्ध हिङ, जीराको धुलो र सिधेनुन मिलाएर पिउनाले अर्श तथा मलासय गत रोग (piles तथा rectal prolapse), पखाला, आउँ, कमजोर पाचन शक्ति, अपच, अरुचि तथा मूत्रथैली तथा मूत्रमार्गको समस्यामा तुरुन्त लाभ पाउन सकिन्छ ।
☞ ताजा महीको सेवनबाट आँखा पोल्ने, हातखुट्टा पोल्ने समस्याबाट सहजै मुक्ति पाउन सकिन्छ।
☞ आयुर्वेदीय पञ्चकर्म चिकित्सामा तक्रको शिरोधाराबाट शिरोरोग, कपाल झर्ने, चाया पर्ने, समय नहुँदै कपाल फुल्ने तथा आँखा पोल्ने र नेत्र रोगमा प्रभावकारी लाभ पाउन सकिन्छ ।
☞ कपालको समस्यामा महीले कपाल धुन पनि प्रयोग गर्न सकिन्छ।

  • निषेध (मही प्रयोग गर्न नहुने अवस्था)

नवै तक्रं क्षते दध्यानोष्णकाले न दुर्बले ।
नमुर्च्छाभ्रमदाहेषु न रोगे रक्तपित्तजे ।।   – योग रत्नाकर

☞ धेरै अमिलो मही र दही क्षयरोग, क्षीण शरीर भएका तथा अति दुर्बल व्यक्तिले प्रयोग गर्नुहुँदैन । मुख, अन्ननली तथा आमाशयको घाउ (Ulcer), मुर्छा, चक्कर आउने तथा शरीरभित्रको, पेट र छातीको जलन र रक्तस्रावमा हानिकारक हुन सक्छ ।
☞ महीको सेवन वर्षाकालको तीव्र गर्मी (पसिना धेरै बग्ने समय) मा पनि हानिकारक हुन्छ ।
☞ दूधलाई राम्रोसँग नउमालेर बनाइएको दही तथा राम्रोसँग तयार नभएको (अपक्व) दहीबाट बनको महीको सेवनले घाँटीमा कफको सञ्चय, शिररोग, श्वास (दम), कास (खोकी) तथा स्मरण शक्तिमा ह्रास ल्याउन सक्ने हुन्छ ।
☞ खीर, काँक्रो, खरबुजा, दूध, पनिर, तात्तातो भोजन तथा गर्मी गर्ने गुण भएका पदार्थका साथ महीको प्रयोग अति हानिकारक हुन सक्छ ।
☞ मही तामा, काँश, पित्तल तथा एलुमुनियम (गिल्टी) को भाँडोमा सञ्चय गरेर राख्नुहुँदैन । यसलाई माटो, काठ, चाँदी, काँच तथा स्टिलको भाँडोमा राखेर पिउन उपयुक्त हुन्छ ।

 

(आयुर्वेद चिकित्सक गौतम मातामनकामना आरोग्य केन्द्र, बुटवलसँग आबद्ध हुनुहुन्छ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here